आफ्नै इज्जत धान्न नसकेका सिक्वेल, फिका बन्यो बक्सअफिस
काठमाडौं । यो वर्षको दसैँमा नेपाली बक्सअफिसमा राम्रो कलेक्सन हुने धेरैलाई अपेक्षा थियो । तर, यो वर्ष सिनेमा मेकरका लागि त्यति धेरै सहज देखिएन ।
चलेका सिक्वेल, चलेका कलाकार र अनुभवे मेकरका सिनेमा नै चल्न सकेनन् । अघिल्लो भाग बक्सअफिसमा हिट भए पनि ती सिनेमाका सिक्वेल राम्रोसँग चल्न सकेनन् ।
एउटा सिनेमाले राम्रै नाफ कमाए पनि अघिल्लो भागको आधा कलेक्सनमा सीमित रह्यो । अर्को सिनेमाले मुस्किलले लगानी उठाए पनि बाँकी दुई सिनेमा त घाटा मै गए ।
यो दशैँमा चलचित्र ‘कबड्डी ५’, ‘आ बाट आमा २’, ‘६ माया छपक्कै २’ र ‘१२ गाउँ २’ रिलिज भएका थिए । यसमध्ये ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ हलबाट उत्रिसकेका छन् ।
चलचित्र ‘कबड्डी ५’ले आइतबारसम्म १३ करोड ३९ लाख, ‘आ बाट आमा २’ ६ करोड ८१ लाख, ‘६ माया छपक्कै २’ले ३ करोड ८२ लाख र ‘१२ गाउँ २’ २ करोड ३१ लाख कलेक्सन गरेका छन् ।
जबकी यी सिनेमाका अघिल्ला भागको कलेक्सन निकै लोभलाग्दो थियो । सबै १० करोड माथि नै कलेक्सन गरेका थिए । तर, अहिले १० करोडमाथि कलेक्सन गर्ने र नाफा कमाउनेमा ‘कबड्डी ५’ मात्रै छ ।
यसअघि ‘कबड्डी ४’ले २१ करोड ४० लाख र ‘आ बाट आमा’ले १३ करोड २० लाख कमाएको थियो । ‘१२ गाउँ’ले १९ करोड ९२ लाख कमाएको थियो । ‘६ माया छपक्कै’ले करिब १० करोड कमाएको थियो ।
यो वर्ष भने चारवटै चलचित्रका सिक्वेलले दर्शकको मन जित्न सकेनन् । राबाबु गुरुङ, चन्द्र पन्त, दीपेन्द्र लामा र विराज भट्टका सिनेमा फिका हुँदा दयाहाङ राई, पल शाह, दीपकराज गिरी र समीर भट्ट बक्सअफिसमा चम्किन सकेनन् ।


