‘चमेलीको पोइ’को कमाइ साढे ५ लाख, ‘चंगुल’को एक लाख, अरु ७ वटा चलचित्रमा कसले कति कमाए ?
काठमाडौं । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्सअफिस विवरणअनुसार नेपाली चलचित्र ‘बा: एक योद्धा’को कमाइमा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो विवरणमा १० दिनमा १ करोड ९३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको फिल्मले पछिल्लो विवरणमा ३ करोड ५ लाख रुपैयाँभन्दा बढी कमाएको छ ।
बोर्डले सोमबार सार्वजनिक गरेको आइतबारसम्मको विवरणअनुसार ‘बा: एक योद्धा’ले कुल ३ करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कमाएको छ । यसका १ लाख ७ हजार ५३३ टिकट बिक्री भएका छन् । अघिल्लो विवरणमा उल्लेखित कमाइसँग तुलना गर्दा फिल्मको कुल ग्रसमा करिब १ करोड १२ लाख रुपैयाँ वृद्धि देखिन्छ ।
असोज ९ गतेदेखि प्रदर्शनमा आएको निखिल उप्रेती निर्देशित चलचित्र ‘आचार्य’को कमाइ पनि बढेको छ । अघिल्लो विवरणमा १ करोड ५६ लाख रुपैयाँ ग्रस कमाएको फिल्मले पछिल्लो तथ्यांकअनुसार १ करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ कमाएको छ । यसका ५६ हजार १९९ टिकट बिक्री भएका छन् । अघिल्लो विवरणसँग तुलना गर्दा यसको कुल कमाइ करिब ६ लाख रुपैयाँ बढेको देखिन्छ ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ले पनि बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । अघिल्लो विवरणमा ९ करोड १३ लाख रुपैयाँ ग्रस कमाएको फिल्मले पछिल्लो तथ्यांकअनुसार ९ करोड ८८ लाख ९२ हजार १८८ रुपैयाँ कमाएको छ । यसका ३ लाख ४७ हजार ८८२ टिकट बिक्री भएका छन् । अघिल्लो विवरणसँग तुलना गर्दा यसको कुल ग्रसमा करिब ७६ लाख रुपैयाँ वृद्धि देखिन्छ ।
सोही दिन प्रदर्शनमा आएको ‘बेहुली’ले पछिल्लो विवरणअनुसार २ करोड ९९ लाख ४० हजार ७२४ रुपैयाँ ग्रस कमाएको छ । फिल्मका १ लाख ६ हजार ५४३ टिकट बिक्री भएका छन् । अघिल्लो विवरणमा पनि यसको कमाइ करिब २ करोड ९९ लाख रुपैयाँ उल्लेख गरिएको थियो ।
लामो समयदेखि प्रदर्शनरत ‘गौँथली’ले बक्सअफिसमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ । पछिल्लो विवरणअनुसार फिल्मले २६ करोड २ लाख ७० हजार ५९० रुपैयाँ ग्रस कमाएको छ । यसका ९ लाख ४४ हजार ६१२ टिकट बिक्री भएका छन् । अघिल्लो विवरणमा फिल्मको कमाइ २६ करोड १ लाख रुपैयाँ उल्लेख थियो ।
यस्तै, ‘झिंगेदाउ २’ले १ करोड ४६ लाख १२ हजार ९१६ रुपैयाँ र ‘तिमीहरू: एलिफेन्ट्स इन द फग’ले १ करोड ३१ लाख ६० हजार ५४५ रुपैयाँ ग्रस कमाएका छन् ।
पछिल्लो बक्सअफिस विवरणमा नयाँ प्रदर्शनरत चलचित्र ‘चमेलीको पोइ’ले ५ लाख ५० हजार २१० रुपैयाँ र ‘चंगुल’ले १ लाख ३८ हजार ३८० रुपैयाँ ग्रस कमाएको उल्लेख छ ।
पछिल्लो बक्सअफिस विवरणअनुसार कमाइको शीर्ष स्थानमा ‘गौँथली’ छ । त्यसपछि ‘पेन्सन पट्टा’ र ‘बा: एक योद्धा’ छन् ।


