प्रकाश सपूत आफ्नै चलचित्रको कार्यक्रममा किन उपस्थित भएनन् ?
काठमाडाैं । गायक तथा अभिनेता प्रकाश सपूत अहिले आफैंले अभिनय गरेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का कारण चर्चामा छन् । उनी चर्चामा रहनुको कारण यो चलचित्रको पोस्टर, टिजर आफ्नो फेसबुकमा सेयर नगर्नुदेखि ट्रेलर सार्वजनिक कार्यक्रमा उपस्थित नहुनु हो ।
बिहीबार कलमपोखरीस्थित विग मुभिज हलमा ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिकको कार्यक्रम राखिएको थियो । जहाँ सिनेमाका अन्य प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुसाल, अञ्जना बराइलीसहित अन्य कलाकार उपस्थित भए पनि केन्द्रीयमध्ये एक भूमिकामा रहेका सपूत भने अनुपस्थित थिए ।
चलचित्रको ट्रेलर कार्यक्रममा सपूतको अनुपस्थितिले मिडियामा चर्चा भएको छ । हुन त, यसअघिकै एउटा हल्लाले झनै बल दिएको छ कि उनी निर्माण युनिटसँग असन्तुष्ट छन् । स्रोतका अनुसार सपूत र ‘पूर्णबहादुरको सारङ्गी’ युनिटबीचको असमझदारी भने यसको रिलिज मिति सम्बन्धी विवाद हो ।
सुरुवातमा प्रकाशले ‘पूर्णबहादुरको सारङ्गी’मा काम गर्दा उनले आफूले निर्देशन तथा अभिनय गरेको ‘वसन्त’पछि मात्र यसलाई रिलिज गरिने सम्झौतामा हस्ताक्षर गरेको तर निर्माताले ‘पूर्णबहादुरको सारङ्गी’लाई कात्तिक १५ मा नै रिलिज गर्न लागेको हुँदा रुष्ट भएकाे स्रोत बताउँछ ।
उसो त, रिलिजको हिसावले अगाडि रहेको र प्रचारको काम सुरु गरिसक्नुपर्ने चलचित्रलाई चाहिँ किन प्रकाशले बेवास्था गरिरहेका छन् भन्ने प्रश्न यतिबेला धेरैको छ ।
प्रकाशले चलचित्रको डबिङ सकेपछि प्रचार-प्रसारमा साथ दिएका छैनन् । ट्रेलर रिलिज कार्यक्रममा पनि मिडियाकर्मीले सपूतको अनुपस्थिति र असन्तुष्टलाई लिएर प्रश्न उठाए ।
यता, निर्माण पक्ष भने प्रकाशसँग कुरा गरेरै यो चलचित्रलाई रिलिजमा ल्याउन लागिएको बताएकाे छ ।
निर्माता बिनोद पौडेलले भन्छन्, “डबिङसम्म गर्नका लागि आउनुभयो त्यसपछि सम्पर्क छैन। उहाँलाई हामीले प्रमोसनका लागि अनुरोध गरिरहेका छौँ, तर अहिलेसम्म कुनै उत्तर पाएका छैनौँ । हामीलाई विश्वास छ कि उहाँ सिनेमाको प्रचारमा सहभागी हुनुहुनेछ।”
निर्माता पौडेलका अनुसार सपूतसँग ‘वसन्त’भन्दा पछि ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शन गर्ने सहमति भएको थियो । आफ्नो लेखन, निर्देशन र अभिनय रहेने ‘वसन्त’ पहिला प्रदर्शन गर्ने सहमति भएरै प्रकाश ‘पूर्णबहादुरको सारङ्गी’मा अनुबन्ध भएको पौडेलले स्वीकार गरे ।
निर्माता पौडेल अगाडि थप्छन्, “प्राविधिक कारणले ‘पूर्णबहादुरको सारङ्गी’ पहिला प्रदर्शन गर्नुपर्ने भएपछि प्रकाशजीसँग छलफल भएको हो, उहाँ ठीकै छ भनेर हिड्नुभएको हो । उहाँहरूले सुरुवातमा प्रचार सामग्री केही सेयर गर्नुभएको थिएन, टिजर सार्वजनिक भएको केही दिनपछि फेसबुकमा सेयर गर्नु भएको थियो । आज पनि आउनु भएन । कुरा यही हो ।”
यसैगरी चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले भने सपूतको अनुपस्थितिको कारण उनको व्यस्तता भएको दाबी गरेका छन् । “प्रकाश अहिले आफ्नै निर्देशन र अभिनयमा रहेको फिल्म ‘वसन्त’मा निकै व्यस्त छन्,” पौडेलले भने, “हामीले कार्यक्रमको बारेमा पनि उनलाई सम्पर्क गर्न सकिएन ।”
सपूतको फिल्मी करियर अहिले निकै चर्चामा रहेको र ‘वसन्त’को निर्देशन र अभिनयमा उनी सक्रिय रहेका बेला ‘पूर्णबहादुरको सारङ्गी’को रिलीजले भने उनलाई केही तनावमा पारेको देखिन्छ । अब हेर्ने बाँकी छ, सपूत यो सिनेमाको प्रमोसनमा फर्कनेछन् अथवा असन्तुष्टिले आफ्नै करियरमा नकारात्मक असर पुर्याउने छन् ।
सिनेमाको सार्वजनिक ट्रेलरले सारंगी संस्कृति जोगाउन गाइने समुदायले गर्ने संघर्षको कथा समेटेको छ । ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ । गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ ।
निर्देशक पौडेलकै कथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमाका निर्माता बिनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् ।
‘पूर्णबहादुरको सारङ्गी’ कात्तिक १५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
यो पनि पढ्नुहोस्
प्रकाश सपूतलाई डर लाग्या हो आफैले अभिनय गरेका चलचित्रका प्रचार सामग्रीबाट ?