karsang
Close Me

‘छक्कापञ्जा–५’ र ‘१२ गाउँ’को बम्पर व्यापार, अग्रस्थानमा को ? ‘ज्वाइँसाब’ले गति लिँदै

पबन भट्टराई/आर्टखबर

काठमाडौं । दशैंको फूलपातीको अवसरमा तीन नेपाली चलचित्र ‘छक्कापञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ एकसाथ प्रदर्शनमा आए । यी चलचित्र प्रदर्शन भएको १० दिन पुग्दा तीनै चलचित्रले राम्रो व्यापार गरेको देखिएको छ ।

यी तीन चलचित्रहरूको प्रदर्शनअघि असोज ३ गतेबाट प्रदर्शनमा आएको अशोक थापा निर्देशित ‘खुस्मा’, असोज ११ गतेबाट प्रदर्शनमा आएको’आँखा’ र ‘सानो संसार’लगायत चलचित्रहरु हलमा थिए । तर, भारी वर्षा र दर्शकको ध्यान दशैंको तयारीतर्फ मोडिएकाले यी चलचित्रहरुले खासै व्यापार गर्न सकेनन् । यस्तै, लगातारको वर्षाले सिर्जित विपत्तिलाई ध्यानमा राख्दै चलचित्र ‘आँखा’ र ‘सानो संसार’ले हलमा लागेको पत्तै भएन भन्ने स्थिति बन्यो । ‘सानो संसार’ले भने फेरि नयाँ प्रदर्शन मिति तोकेकाे छ ।

यस्तै, घटस्थापनाको दिनको अवसर पारेर असोज १७ गतेबाट रिलिज भएको ‘बेहुली फ्रम मेघौली’ हलमा थिए । यसपछि असोज २४ गतेबाट ‘छक्कापञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ एकसाथ प्रदर्शनमा आएका चलचित्र हुन् ।

प्रदर्शनअघि नै चर्चामा रहेको चलचित्र ‘छक्कापञ्जा–५’ लाई हलहरुले पहिलो प्राथमिकता दिएका थिए । छक्कापञ्जा सिरिजको पाँचौं संस्करण भएकाले पनि यसमा दर्शकको उत्साह उच्च थियो । अग्रिम टिकट बुकिङ खुलाउँदा तीन चलचित्रमध्ये सबैभन्दा धेरै शो ‘छक्कापञ्जा–५’ले पाएको थियो । ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ले करिब उस्तै उस्तै शो पाउँदा ‘छक्कापञ्जा–५’ले करिब करिब यी दुई सिनेमाले पाएको सो जति एक्लैले पाएको थियो ।

तर , विस्तारै ‘१२ गाउँ’ले शो बढाउँदै गयो । दिन दुई/तीन चार शोका दरले ‘१२ गाउँ’का शो थपिँदै जाँदा प्रदर्शनको छैटौँ दिनमा आइपुग्दा मल्टिप्लेक्स चेनहरुमा यी दुवै चलचित्रले बराबर शो पाए । ‘ज्वाइँसाब’ले भने सुरुमा ‘१२ गाउँ’ बराबर नै शो पाए पनि पहिलो दिनबाटै दर्शक नआएपछि शो सर्लक्कै घट्यो । तर, रिलिजको तेस्रो दिनबाट भने भएका शाेमा विस्तारै अकुपेन्सी बढाउँदै आएको छ । सुरुवाती दिनमा कम शो पाएको ‘ज्वाइँसाब’ले समेत यतिबेला आफ्नो गति लिएको छ ।

छक्कापञ्जा ५ र १२ गाउँको धमाकेदार कमाई

शुरुवाती दिनदेखि नै दर्शकको भीड उम्लिएको ‘छक्का पञ्जा–५’ले अघिल्ला सिरिजहरूलाई पछि पार्दै १० दिनभित्र नै १० करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ ।

यता, अर्काे चलचित्र ‘१२ गाउँ’ पनि त्यत्तिकै लोकप्रिय रह्यो । समाज, संस्कृति, राजनीति र एक्सनप्रधान कथावस्तुका कारण यो चलचित्रले पनि ‘छक्कापञ्जा–५’ कै हाराहारीमा दर्शक तान्न सफल भएको छ । यस चलचित्रले पनि १० करोडभन्दा बढीको व्यापार गरेको जानकारी दिइएको छ । दर्शकले यो चलचित्रलाई खासगरी एक्सनप्रधान विषयवस्तुका कारण रुचाएका छन्, जसले नेपाली चलचित्रमा एक्सनप्रति दर्शकको आकर्षण अझै जिवित रहेको देखाएको छ । यस हिसाबले ‘छक्का पञ्जा–५’लाई दरो टक्कर दिइरहेको पुष्टि गर्छ ।

दुई ठूला ब्यानरका चलचित्रसँगै प्रतिस्पर्धामा आएको ‘ज्वाइँसाब’ शुरुवातमा कमजोर देखिएको थियो । यो चलचित्रले पहिलो हप्तामा थोरै मात्र व्यापार गर्यो । तर, चलचित्रलाई राम्रो समीक्षाहरु र दर्शकको सकारात्मक प्रतिक्रियाले बुस्ट दिएपछि यसले पनि दर्शकको ध्यान तान्न थालेको छ ।

अहिलेको अवस्थासम्ममा ‘ज्वाइँसाब’ले ३ करोडभन्दा बढीको ग्रस कलेक्सन गरिसकेको छ, जसले दर्शकको माया जित्दै अघि बढिरहेको देखाउँछ। हलहरुले पनि यसको माग बढेसँगै शोहरुको संख्या बृद्धि गरेका छन्।

कस्ता छन् यी चलचित्र ?

‘छक्कापञ्जा-५’

सामाजिक कथामा बनेको ‘छक्का पञ्जा–५’ले यो वर्ष देशमा व्याप्त भ्रष्टाचारको विषय उठान गरेको छ । कर्मचारीतन्त्र, राजनीति र विकास निर्माण हुने भ्रष्टाचारको जालोलाई व्यङग्य गरेको छ । कर्मचारी कति घुस्याहा छ, नेता, कर्मचारी र ठेकेदारको मिलिभगतमा कसरी भ्रष्टार हुन्छ भन्ने छक्का पञ्जाको यो पाँचौं सिरिजले देखाएको छ । यो देखाउन एक इमान्दार कर्मचारीको रुपमा शाखा अधिकृतलाई उभ्याइएको छ । उसको राष्ट्रप्रेम र इमान्दारितामार्फत समाजका भ्रष्ट पक्षलाई देखाइएको छ ।

यतिसम्म ठिक छ । तर जब पृथ्वीनारायण शाहलाई जोडेर सिनेमाको कथा अगाडि बढाइएको हो । यहाँनेर दर्शक दिक्दार हुन्छन् । सिधासिधी कथा भन्न छोडेर किन पृथ्वीनारायण शाहलाई अनावश्यक रुपमा अगाडि सारिएको झिजो लाग्ने पक्ष यही हो ।

‘छक्का पञ्जा–५’ले हसाउँछ भनेर हलसम्म जाने दर्शक भने यसपटक नहासी फर्किन्छन् । सिनेमाले गम्भीर कुरा गर्छ । हसाउँदैन । अब छक्का पञ्जाका सिरिजमा हसाउने पात्र भनेर चिनिएका केदार घिमिरे (माग्ने बुढा)ले हसाउन नसकेपछि कसले हसाउने । यो सिरिजकै सबैभन्दा कमजोर चरित्रमा छन् उनी यसपटक । हसाउँछ मात्रै कथा भन्दैन भन्नेहरूका लागि भने दीपकदीपाले यसपटक मुखबुझो लगाइदिएका छन् ।

‘१२ गाउँ’ कस्ताे ?
‘१२ गाउँ’ अपेक्षा गरिएभन्दा बढी चलेको सिनेमा हो । यो कुरा सत्य हो । भलै जसरी छक्का पञ्जा ५लाई बहिस्कार गरिन्छ यो पटक १२ गाउँ हेरिन्छ भनेर सामाजिक सञ्जालमा लेखेजस्तो, छक्का पञ्जा ५ कै कमेन्टमा घुसेर लेखेजस्तो चाहिँ अहिलेसम्म भएको छैन । किन भने ‘छक्का पञ्जा–५’ पनि दर्शकले हेरेका हेरै छन् । पाँच दिनमा आठ करोड कमाइसकेको छ ।

तर जे होस्, ‘१२ गाउँ’मा पनि अभूतपूर्व दर्शकले हेरेका छन् । पाएका शो हाउसफूल छन् । दिनप्रतिदिन शो हाउसफुल हुनुले एक्सन सिनेमाप्रति दर्शकको क्रेज रहेछ भन्ने प्रमाणित यो सिनेमाले गरिदिएको छ ।

‘१२ गाउँ’ चल्यो । अझै चल्छ पनि अहिलेको अवस्था हेर्दा । कथा चाहिँ यसले के भनेको छ हेर्नेलाई थाहै छ । यसले देखाएको भनेको बिराज भट्ट र उनको छोरो डेब्यु अभिनेता समीर भट्टको फाइट हो । कथा त त्यस्तै हो । सायद दोस्रो सिरिजमा भन्न बाँकी हो कि । सिक्वेलका लागि ठाउँ छाडेका रहेछन् ।

हराएको आफ्नो बाउ खोजिदिन गुण्डाका घरमा एक युवती पुग्छन् । गुण्डा हराएको मान्छे खोज्न १२ गाउँ पुग्छन् । ‘१२ गाउँ’ जान कोही सक्दैन । बाहेक बिराजका बाउछोरा । भिलेनको दबदबा सक्काउन दुई हिरो एक एकै ठाउँ । यही हो कथा, अँ ‘१२ गाउँ’मा कोही पुग्दैन । तर त्यो समय चाहिँ अहिलेको हो । अथवा डिजिटल युगको, मोबाइल र इन्टरनेटको युगको । यस्तो पनि हुन्छ ? हुन त हुन्छ किनकी सिनेमा हो । मोटामोटी यो कथा बिराज भोजपुरी सिनेमामा छिर्नुभन्दा अगाडिका नेपाली सिनेमाको होइन त । जुन बेला बिराज र निखिल उप्रेतीको रजगज चल्थ्यो नेपाली रजतपटमा ।

बागमतीमा धेरै पानी बगिसक्यो । पानी जति बग्दै जान्छ त्यति संगलिदै कञ्चन हुँदै जान्छ । खैर १२ गाउँको कथा लेख्दा बिराजको दिमागमा पानी चाहिँ बगेनछ, जमिरहेछ । त्यही देखियो सिनेमाको कथा हेर्दा त ।

‘ज्वाइँसाब’
चलचित्र ‘ज्वाइँसाब’ले हास्यरस र गम्भीर सामाजिक विषयलाई समेट्ने प्रयास गरेको छ । चलचित्रको मुख्य कथा पारिवारिक तनाव, घर ज्वाइँको जीवन, र समाजका कुरीतिहरूमा केन्द्रित छ ।

जितु नेपालले उत्कृष्ट अभिनय गरेका छन्, जसले दर्शकलाई सरप्राइज गरेको छ । तर, केही पात्रहरूको चरित्र निर्माणमा कमजोरी देखिन्छ, विशेषगरी नीति शाहको भूमिका अपरिपक्व देखिन्छ । चलचित्रले सस्पेन्स र हास्यरसको राम्रो संयोजन गरेको भए पनि केही अनावश्यक दृश्यले फिल्मको गतिलाई अलि सुस्त बनाएको छ।

सामाजिक मुद्दा उठाएर हँसाउन सफल भए पनि निर्देशकले केही दृश्यमा अपूर्णता र अन्योल राखेका छन्, जसले कथालाई कमजोर बनाएको छ।

दर्शकमा उत्साह
फूलपातीदेखि तीन ठूला चलचित्रबीचको प्रतिस्पर्धा हुँदासमेत हलमा दर्शकको कमी देखिएको छैन । लामो समयपछि नेपाली दर्शक फेरि हलमा फर्किएका छन्, जसका कारण कतिपय हलमा टिकट नपाएर दर्शक फर्किनुपरेको स्थिति पनि देखिएको छ ।

पछिल्लो समय समाज, संस्कृति र राजनीतिमा आधारित चलचित्रले नै नेपाली बजारमा स्थान पाउँदै आइरहेका छन् । एक्सनप्रधान चलचित्र भने फाट्टफुट्ट मात्र निर्माण भएका थिए, तर १२ गाउँ जस्तो चलचित्रले दर्शकको ओइरो देखाएर नेपाली दर्शकको रुचि अझै पनि विविध स्वादका चलचित्रप्रति रहेको प्रमाणित गरेको छ । मिहिनेत र सही विषयवस्तु चयनमा ध्यान दिए नेपाली चलचित्रले अझै ठूलो उचाइ हासिल गर्न सक्ने विश्लेषकहरूको बुझाइ छ ।

अन्ततः, यी तीन चलचित्र ‘छक्कापञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’को सफलताले नेपाली चलचित्र उद्योगलाई पुनः ताजगी दिइरहेको छ, जसले नेपाली चलचित्रको भविष्यप्रति सकारात्मक संकेत दिएको छ ।

यो पनि पढ्नुहोस्

दीपकराज गिरी भन्छन्- ‘छक्का पञ्जा-५’को टिकट काटेर बसेका दर्शकलाई धम्की आयो

पहिलो सातामा ‘१२ गाउँ’को १० करोड ५ लाख ग्रस

‘ज्वाइँ साब’ ले दर्शकको साथ पाउँदै, अकुपेन्सीमा सुधार