अन्ततः जोडिए रामबाबु र उपेन्द्र, सँगै मिलेर ‘जारी–२’ र ‘कबड्डी–५’ बनाउँदै, कुन बन्ला पहिला ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा फुट्नु र जुट्नु नौलो होइन । फुट्ने र जुट्नेक्रम चलिरहन्छ ।
आफूलाई सर्बेसर्वा ठानेर अरुलाई नजरअन्दाज गर्दा फुट्ने र आफ्नो ग्राउन्ड रियालिटी बुझेपछि पुनः जुट्ने नेपाली चलचित्रकर्मीको प्रवृत्ति नै हो ।
यहीक्रम फेरि एकपटक दोहोरिएको छ । नेपाली चलचित्र उद्योगलाई सफल चलचित्र दिएका चलचित्रकर्मी रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको प्याचअप भएको छ ।
‘जारी’ व्यापारिक रुपमा सफल भएपछि एउटै टिममा रहेका रामबाबु र उपेन्द्र अलग भएका थिए । हिसाबकिताब पारदर्शी नहुँदा उनीहरु फरकफरक बाटोमा लागेको बताइएको थियो । तर, यसलाई दुवैले अस्वीकार गर्दै आएका थिए ।
अलग अलग भएपछि रामबाबुले ‘डिग्री माइला’ बनाए । उपेन्द्रले ‘मनसरा’ ।
तर, यी दुवै चलचित्रले अपेक्षित व्यापार गरेनन् । उनीहरूको ब्राण्डअनुसार चलचित्र सफल भएनन् । ब्यानर र निर्देशक र लेखकको ब्राण्डअनुसार सिनेमाले ब्यापार गरेनन् ।
समीक्षात्मक रूपमा पनि दुवै चलचित्र असफल भएपछि रामबाबु र उपेन्द्र फेरि एक ठाउँमा आइपुगेको स्रोतको भनाइ छ ।
“उहाँहरू (उपेन्द्र सुब्बा र रामबाबु गुरुङ) फेरि सँगै काम गर्दै हुनुहुन्छ । दुवैजनाका चलचित्र बक्सअफिसमा आशा गरेअनुसार सफल हुन नसकेपछि सँगै काम गर्दै हुनुहुन्छ,” रामबाबु र उपेन्द्रनिकट स्रोतले भन्यो, “अब उहाँहरू जारी–२ र ‘कबड्डी–५’ बनाउँदै हुनुहुन्छ । यी मध्ये सम्भवतः जारी– पहिला बन्छ होला ।”
रामबाबु र उपेन्द्रले ‘कबड्डी’ सिरिज बनाएका थिए । ‘कबड्डी’ सिरिजका लेखक उपेन्द्र हुन् भने निर्देशक रामबाबु हुन् ।
‘जारी’का लेखक तथा निर्देशक उपेन्द्र हुन् । यसमा लगानीमा भने रामबाबुले उपेन्द्रलाई साथ दिएका थिए ।
उपेन्द्र र रामबाबुको पुनः सहकार्यले नेपाली चलचित्र उद्योगमा सकारात्मक सन्देश जानेछ । उनीहरूको सहकार्यपछि बन्ने चलचित्रले भने हाइप क्रिएट गर्नेछ ।
तर, सहकार्यपछि बन्ने चलचित्र भने राम्रो बनाउनुपर्ने उनीहरूलाई ठूलो दबाब हुनेछ ।