‘माइतीघर’ इमोसनल सिनेमा हो, सेलिङ पाेइन्ट के हो ?
काठमाडौं । चलचित्र ‘माइतीघर’ निर्माणको घोषणा गरिएको छ । निर्माता रोहित अधिकारीले चलचित्र निर्माणको घोषणा गरेका हुन् । रोहितले चलचित्रको टाइटलसँगै ब्यानर, निर्देशक र राइटरको नाम घोषणा गरेका छन् ।
रोहितका अनुसार ‘माइतीघर’ मिलन तामाङले निर्देशन गर्नेछन् । लेखक रामशरण पाठक हुनेछन् ।
सोसल ड्रामा जनरामा निर्माण हुने चलचित्रले माइतीघर छोड्दाको इमोसन देखाउनेछ ।
फागुन र चैतमा चलचित्र छायांकन गरिने र दसैँमा रिलिज गर्ने उनले बताएका छन् ।
निर्माणपक्षले चलचित्रको नाम ‘माइतीघर’ राखे पनि यो पुरानो माइतीघर चलचित्रको सिक्वेल भने नहुने बताएको छ । शीर्ष गीत भने पुरानो ‘माइतीघर’को हुनेछ ।
निर्माता रोहितले नाम चलेका कलाकार लिने बताएका छन् । तर को–को लिने त्यो भने प्रष्ट पारिसकेका छैनन् ।
तर उनले जुन कथा र जनरा रोजेका छन्, त्यसले इमोसन चलचित्रको सेलिङ पोइन्ट हुनेछ । स्टारडम र कमेडी भए चलचित्र बिक्री गर्न सहज हुन्छ भन्ने रोहित इमोसनलाई सेलिङ पोइन्ट बनाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेको देखिन्छ ।
पञ्चलाइन कमेडी र डार्क कमेडीले राम्रो ब्यापार गरिरहेका बेला यो वर्षको दसैँमा एक्सन र तिहारमा इमोसनल चलचित्र चलेपछि त्यसको प्रभाव देखिन थालिसकेको छ ।