रोहितको माइतीघरमा केदार घिमिरे पक्का, अरु कोको छन् ?
काठमाडौं । चलचित्र ‘माइतीघर’मा केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएका छन् ।
औपचारिक घोषणा नगरे पनि निर्माता रोहित अधिकारीले केदार घिमिरेको तस्बिर फेसबुक स्टोरीमा राख्दै ‘माइतीघर’ दसैँको फूलपातीमा लेखेका छन् । यसबाट यो चलचित्रमा केदार अनुबन्धित भएको प्रष्ट भएको छ ।
रोहितले चलचित्रको टाइटलसँगै ब्यानर, निर्देशक र राइटरको नाम घोषणा यसअघि नै गरिसकेका छन् ।
निर्माता रोहितले नाम चलेका कलाकार लिने बताएका छन् । तर को–को लिने त्यो भने प्रष्ट पारिसकेका छैनन् । स्रोतका अनुसार यो चलचित्रमा धिरज मगर र प्रकाश सपूतले पनि काम गर्नेछन् ।
रोहितका अनुसार ‘माइतीघर’ मिलन तामाङले निर्देशन गर्नेछन् । लेखक रामशरण पाठक हुनेछन् ।
सोसल ड्रामा जनरामा निर्माण हुने चलचित्रले माइतीघर छोड्दाको इमोसन देखाउनेछ ।
फागुन र चैतमा चलचित्र छायांकन गरिने र दसैँमा रिलिज गर्ने उनले बताएका छन् ।
निर्माणपक्षले चलचित्रको नाम ‘माइतीघर’ राखे पनि यो पुरानो माइतीघर चलचित्रको सिक्वेल भने नहुने बताएको छ । शीर्ष गीत भने पुरानो ‘माइतीघर’को हुनेछ ।