‘आउट ल– दफा : २१९’मा सुशीललाई एक्सन स्टारको ट्याग किन ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आउट ल– दफा : २१९’ ले नयाँ प्रदर्शन मिति घोषणा गरिसकेको छ । निर्माण पक्षका अनुसार अब यो चलचित्र फागुन २९ गते रिलिज हुनेछ । फागु पूर्णिमाको अवसर पारेर यो चलचित्र रिलिज हुने भएको हो ।

नयाँ पोस्टरसहित निर्माणपक्षले चलचित्रको डेट अनाउन्स गरेको हो । पोस्टरमा ‘आउट ल– दफा : २१९’ मुख्य कलाकार सुशील श्रेष्ठलाई देख्न सकिन्छ । जहाँ उनी कुर्षीमा सुस्ताइरहेका छन् ।

हात र अनुहारमा र रगत छ । कोट पाइन्टमा ठाँटिएका उनको हातमा घरेलु हतियार बञ्चरो छ । जसले उनी कुनै मुटभेडपछि बसेको देखिन्छ । बञ्चरोमा एक्सन स्टार सुशील श्रेष्ठ लेखिएको छ ।

उनको रुप र सेटअपले उनी एक्सन भूमिकामा रहेको संकेत गर्छ । बञ्चरोमा लेखिएको एक्सन स्टारले उनी लोभलाग्दो एक्सन सिनमा जबरजस्त छन् भन्ने अनुमान लगाउन सकिन्छ । यो चलचित्रले सुशीलाई एक्सन स्टारको ट्याग दिएको छ ।

सिनेमाको नामले कुनै फौजदारी मुद्दाको फन्दामा फसेको हिरोलाई कानुनी कठघराबाट बाहिर निकाल्न संविधान र कानुनका दफादफामा टेकेर बहस हुने अनुमान लगाउन सकिन्छ । नाम र हिरोको गेटअपले सुरुदेखि नै यो चलचित्र ‘आउट ल– दफा : २१९’प्रति उत्सुकता जगाउँदै आएको छ ।

चलचित्रमा सुशीलका अलवा शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, सोनी ल्यागुन र बिशाल पहारीको अभिनय रहेको छ । चुल्ठे काजीको एक्सन रहेको चलचित्रलाई अशोक शर्माको डिसिएनले वितरण गर्दैछ ।

बिक्की महर्जको लेखन तथा निर्देशन रहेको सिनेमामा अमित अग्रहरीको लगानी छ । विनोद कडायत कार्यकारी निर्माता रहेको सिनेमाको सह–निर्माता विकाश चौधरी हुन् ।

स्याडो पिक्चर्स तथा रेट्रो फिल्मस्को व्यानर निर्माण भएको सिनेमामा नवीन गुरुङको छायांकन र ट्रेलर मास्टर साहिल खानको सम्पादन रहेको छ ।

अभिनेता सुशील श्रेष्ठ ‘बादशाह जुट’ पछि रजतपटमा कमव्याक गर्दैछन् । यो सिनेमाले आफ्नो कमव्याकलाई सफल बनाउनेमा उनी ढुक्क छन् ।