सरोजको ‘फनफनी घुमेर’ अनिश्चित!, दीपकराजलाई लिएर नयाँ फिल्म बनाउने

काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो आमा सरस्वती मुभिजभन्दा बाहिरको ब्यानरको फिल्ममा काम गर्ने सहमति गरेका छन्।
उनले निर्माता सरोज न्यौपानेसँग एक अनटाइटल फिल्मका लागि सहकार्य गर्ने सहमति गरेका हुन्। दीपकराज गिरीको शीर्ष भूमिका रहने फिल्म निर्माता न्यौपानेको अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुनेछ।
न्यौपानेले चलचित्र विकास बोर्डबाट ‘फनफनी घुमेर’ नाममा निर्माण इजाजत लिएका छन्। सोही कारण त्यही नामको फिल्ममा दीपकराजसँग सहकार्य हुन लागेको चर्चा भइरहँदा निर्माता न्यौपानेले उक्त नाममा फिल्म तत्काल नबन्ने बताए।
फिल्मको निर्देशकमा सुयोग गुरूङको सम्भावना बलियो रहेको बुझिएको छ। यद्यपि, तय भैसकेको छैन। अन्य कलाकार पनि तय हुन बाँकी छ। बुझिएअनुसार केही दिनमै निर्देशक फाइनल गर्ने तयारी छ।
बैशाखमा छायांकन सुरु हुने र तिहारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।