अरुणलाई भ्याइनभ्याइ, चलचित्रमा ब्याक टु ब्याक काम गर्दै

काठमाडौं । अभिनेता अरुण क्षेत्री पछिल्लो समय व्यस्त छन् । एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् ।

केही हप्ता अगाडि मात्रै उनले चलचित्र ‘विमान–९एनएबीबी’को छायांकन सकेका छन् । ‘विमान–९एनएबीबी’ लाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् । यो चलचित्र वि.सं. २०३० मा भएको नेपालको विमान अपहरण (विराटनगर विमान अपहरण)का विषयमा केन्द्रित छ । यो नेपालको इतिहासको पहिलो विमान अपहरणको घटना हो ।

अरुण अहिले ‘जुगिना’ चलचित्रको सेटमा छन् । ‘जुगिना’को केही छायांकन भइसकेको छ । ‘जुगिना’को ८० प्रतिशत छायांकन खप्तड र बझाङमा हुनेछ । बाँकी छायांकन काठमाडौंमा हुनेछ ।

यो चलचित्रमा नायिकामा सुरक्षा पन्त छिन् । कर्मा सँग पनि अरुणले यो चलचित्रमा स्क्रिन सेयर गरेका छन् ।

प्रवीण रोकायाले निर्देशन गरिरहेको चलचित्रको कथा खुलाइएको छैन । तर, छायांकनको लोकेसन हेर्दा पश्चिम नेपालको कथा भन्ने अनुमान लगाउन सकिन्छ ।

‘जुगिना’को केही प्रतिशत छायांकन सकिएसँगै ‘विमान-९एनएबीबी’मा जोडिएका थिए । त्यस लगत्तै उनी अर्को चलचित्र ‘पहाड’मा व्यस्त भएका छन् । निर्देशक तुलसी घिमिरेले निर्देशन गर्न लागेको यो सिनेमाको अहिले कार्यशाला (वर्कशप) चलिरहेको छ ।

‘पहाड’ मार्फत तुलसी घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले डेब्यु गर्दै छिन् । नेपाली रजतपटमा डेब्यु गर्न लागेकी उनले चलचित्रमा अरुणसँग जोडी बाँध्नेछिन् ।

चलचित्र ‘पहाड’ छायाकंन सकिएपछि अरुण अर्को सिनेमामा व्यस्त हुने छन् । त्यो चलचित्र हो, ‘हन्टर’ । ‘हन्टर’को हिरो अरुण हुन् । यसको मुख्य भूमिकामा रहेका अरणले यो सिंगो सिनेमा काँधमा बोकेर हिँड्नु पर्नेछ । यो सिनेमामा को जोडी मोडल तथा नायिका गरिमा शर्मासँग बाँधिनेछ ।

‘हन्टर’लाई जीवन सिंहले निर्देशन गर्नेछन् । रियल पात्रको कथामा आधारित रहेर बन्ने चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ । यो चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । जीवन सिंहको यो डेब्यु निर्देशन हो ।

अरुणको पहिलो चलचित्र ‘महापुरुष’ हो । छायांकनका हिसाबले भने ‘ज्याकी आईएम २१’ उनको पहिलो सिनेमा हो । तर, रिलिजको हिसाबले उनको पहिलो चलचित्र ‘महापुरुष’ हो । जुन व्यापारिक रूपमा सफल भएको थियो । अरुणले ‘प्रेमा’मा पनि अभिनय गरेका थिए ।

‘महापुरुष’ रिलिज ताका यसका निर्देशक तथा निर्माताले अरुणलाई नेपाली चलचित्र उद्योगको लामो रेसको घोडा भनेका थिए । उनको अभिनय क्षमताको पहिचान गर्दै निर्देशक प्रदीप भट्टराई र निर्माता रवीन्द्र सिंह बानियाँले अरुणलाई नेपाली चलचित्र उद्योगको लामो रेसको घोडा भएको बताएका थिए ।

‘महापुरुष’मा उनले हरिवंश आचार्यको छोराको भूमिका निर्वाह गरेका थिए । उनीहरूले भने अनुसार नै अरुण अहिले ब्याक टु ब्याक चलचित्र गरिरहेका छन् । ‘महापुरुष’ रिलिजपछि केही समय केही ग्याप भए पनि अहिले उनलाई चलचित्रको कमी छैन ।