Aktor
Close Me

विवादितको आरोपमा प्रकाश सपूतको तर्क: ‘पृथ्वीनारायण शाह पनि गर्व गर्छन् होला… !’

काठमाडौं । लोकप्रिय गायक तथा कलाकार प्रकाश सपूत आफ्नो सिर्जनामा उत्कृष्टता प्रस्तुत गर्न सधैं खप्पिस छन् । तर, उनको हरेक सिर्जना विवादको घेरामा पर्ने क्रम जारी नै छ ।

उनका पछिल्ला केही गीत ‘सकम्बरी’, ‘दमाई महाराज’, र ‘जाले रुमाल फाट्यो’ पनि विवादरहित रहन सकेका थिएनन् । कहिले शब्दको अर्थका कारण त कहिले भिडियोका दृश्यको कारण, सपूतको सिर्जना सामाजिक संजालदेखि मिडियामा चर्चा-परिचर्चाको विषय बन्ने गरेका छन् ।

शनिबार अफ्नो डेब्यु निर्देशन रहेको चलचित्र ‘वसन्त’को ‘साँझ पर्‍यो झमक्कै’ बोलको गीत सार्वजनिक कार्यक्रममा पत्रकारले सपूतलाई सोधे, “तपाईंलाई त विवादितको ‘किङ’ भनेर आरोप लगाइन्छ नि, के भन्नुहुन्छ?” यो प्रश्नको जवाफमा सपूतले झट्टै आफ्नो तर्क प्रस्तुत गर्दै भने, “विवादित किङ भनिदिनु भयो, पृथ्वीनारायण शाह कति खुशी हुन्छन् होला, अरू किङहरू पनि रहेछन् भनेर ।”

उनको यो जवाफले कार्यक्रममा उपस्थित सबैलाई अचम्मित तुल्याएको थियो । बोल्दा उनको हाउभाउ र शैलीले आक्रोश प्रकट गरिरहेको थियो । पत्रकारका प्रश्नलाई तर्कसहितको उत्तर दिन खोजेपनि सपूतको भावनात्मक प्रतिक्रिया झल्किएको देखिन्थ्यो ।

प्रकाश सपूतले नेपाली कला र संगीतमा नवीनता भित्र्याउने क्रममा पटक-पटक विवाद भोगेका छन् । उनको सिर्जनाले नेपाली समाजका विविध पक्षलाई उभ्याउने प्रयास गरेको भए पनि, प्रायः त्यसले केही समूह वा व्यक्तिहरूलाई असन्तुष्टि जनाउने ठाउँ दिएको छ ।

तर, सपूतका प्रशंसकहरू भने यी विवादहरूलाई उनको सिर्जनशीलताको एउटा हिस्सा मान्ने गर्छन् । सामाजिक सञ्जालमा पनि उनको पक्ष र विपक्षमा थुप्रै बहस चलिरहेका छन् ।

सपूतको तर्क र शैलीले विवादहरूको बीचमा पनि उनको आत्मविश्वासलाई उजागर गरेको देखिन्छ । नेपाली संगीतमा समाजको चित्रण गर्न उनको यो प्रयास जारी रहने स्पष्ट छ, चाहे त्यसले विवाद निम्त्याओस् या प्रशंसा ।