Aktor
Close Me

दर्शकको मन जित्दै ‘वसन्त’को ‘साँझ पर्‍यो झमक्क’

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूतको डेब्यु निर्देशकीय चलचित्र ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्‍यो झमक्क’ शनिबार एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरियो । सपूतले लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीतमा आफ्नो सशक्त उपस्थिति देखाएको यो चलचित्र आगामी चैत्र २२ गते प्रदर्शनमा आउने तयारीमा छ ।

यस चलचित्रको गीत ‘साँझ पर्‍यो झमक्क’ले दर्शक तथा श्रोतामाझ सशक्त प्रभाव पार्न सफल भएको देखिन्छ । गीत सार्वजनिक भएको छोटो समयमै युट्युबको म्युजिक ट्रेन्डिङमा दोस्रो स्थानमा छ । तीन दिनभित्र यो गीत नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगटेको छ ।

सार्वजनिक उक्त गीतमा प्रकाश स्वयंको गायन छ भने उनलाई ‘गलबन्दी’ गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । सालैजो र यानीमाया भाकाको गीतमा प्रकाश स्वयंको शब्द रचना तथा संगीत छ ।

मौसम हिमालीको कोरियोग्राफीमा बनेको ‘साँझ पर्‍यो झमक्क’ गीतको भिडियोमा प्रकाश सपूत र स्वस्तिमा खड्काको उत्कृष्ट नृत्यसँगै उनीहरुबीचको प्रेमलाई देखाइएको छ । साथै भिडियोमा, खड्गबहादुर पुन, प्रभात पल, श्री शिवान्सी, र उर्मिला लामगाधेले पनि अभिनय गरेका छन् ।

दुबै पात्रबीचको प्रेमिल सम्बन्धलाई कलेजबाट सुरु भएको दृश्यबाट चित्रण गरिएको भिडियोमा बागलुङको ग्रामीण परिवेश र जीवनशैलीलाई समेट्दै गीतको भावलाई थप सशक्त बनाइएको छ ।

गीतमा प्रकाशले आफ्नै चर्चित गीत ‘गलबन्दी’को हुलिया र शैली पुन: जीवित गरेका छन् । निधारमा रुमाल बाँधेर, गलामा गलबन्दी लगाएर, रातो हाफ सर्टमा प्रस्तुत प्रकाशलाई देखेर दर्शकले ‘गलबन्दी’को स्मरण गर्न सक्नेछन् । यसले चलचित्र र गीतबीचको गहिरो सम्बन्धलाई उजागर गरेको छ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको सिनेमामा मोहन विश्वकर्मा र विन्दू बोहरा निर्माता छन् । कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ रहेका छन् । मुख्य सहायक निर्देशक सुनील बिक हुन् । ‘वसन्त’ प्रकाशको डेब्यु निर्देशन हो ।

प्रकाश सपूतको डेब्यु सिनेमा ‘परदेशी-२’ सुपरहिट भएको थियो । हालै प्रदर्शनमा आएको दोस्रो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले पनि कीर्तिमानी व्यापार गरेको थियो । 

सपूतका यसअघि रिलिज भएका गीत र चलचित्रहरूको सफलता हेर्दा ‘वसन्त’बाट दर्शकको ठूलो अपेक्षा रहेको छ । गीतको सफलताले चलचित्रप्रतिको उत्सुकता थप बढाएको छ । यसले चलचित्र ‘वसन्त’लाई आगामी दिनमा अझ ठूलो सफलता दिलाउने अनुमान गर्न सकिन्छ।

यो सिनेमालाई काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।