‘माइतीघर’मा कलाकारको लाइनअप पूरा, अरु को-को छन् ?

काठमाडौं । सोसल ड्रामा जनरामा निर्माण हुने चलचित्र ‘माइतीघर’मा कलाकारहरूको लाइनअप पूरा भएको छ ।
रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको सिनेमाको मुख्य भूमिकामा नायक धिरज मगरलाई अनुबन्धित गरेसँगै चलचित्रको तयारीले गति लिएको छ ।
निर्माण पक्षका अनुसार निर्माता अधिकारी र नायक मगरबीच कागजी सम्झौता भइसकेको छ ।
मिलन तामाङले निर्देशन गर्ने यो चलचित्रमा धिरज मगरसँगै लोकप्रिय हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) र गायक तथा अभिनेता प्रकाश सपूत मुख्य भूमिकामा देखिनेछन् । यस्तै, नायिका उपासना सिंह ठकुरी, नव-नायिका दिकिला शेर्पा, र अभिनेता बुद्धि तामाङको पनि महत्वपूर्ण भूमिका रहने निर्माण पक्षले बताएको छ ।
फागुन र चैतमा छायांकन गरिने चलचित्रको छायांकनको जिम्मा सुशन प्रजापतिले लिएका छन् । चलचित्रको कथावस्तु चन्द्रकुमार दोङले लेखेका हुन् भने संवाद लेखकका रूपमा रामशरण पाठक छन् ।
निर्माता रोहित अधिकारीका अनुसार यो सिनेमालाई आउँदो वर्षको दशैंको फूलपातीबाट रिलिज गरिनेछ । रविन शेरचन र धिरज तामाङ यस चलचित्रका लगानीकर्ता हुन् । सिनेमाका कार्यकारी निर्मातामा ईश्वरी श्रेष्ठ रहेका छन् ।
निर्माणपक्षले चलचित्रको नाम ‘माइतीघर’ राखे पनि यो पुरानो माइतीघर चलचित्रको सिक्वेल भने नहुने बताएको छ । शीर्ष गीत भने पुरानो ‘माइतीघर’को हुनेछ ।