सफल चलचित्र निर्माण गर्न ‘पिसाब थ्योरी’ लागु गर्न सल्लाह

काठमाडौं । निर्देशक मनोज पण्डितले चलचित्र निर्माण गर्दा ‘पिसाब थ्योरी’ लागु गर्न सल्लाह दिएका छन् । यो थ्योरी बुझेर सिनेमा बनाएको अवस्थामा नेपाली चलचित्रको विकास हुने उनको भनाइ छ ।
यो थ्यारी नबुझेसम्म नेपाली चलचित्रको विकास सम्भव नरहेको उनको दाबी छ । रमाइलो भनेको हास्नु मात्रै हो भन्ने बुझाइ मेकरमा रहेको र यो नै दुखद् पक्ष भएको उनी बताउँछन् ।
“रमाइलो भनेको हाँस्नु हो भन्ने न्यारेटिभबाट ग्रस्त भएकाले सिनेमा रमाइलो बनाउन दर्शकलाई हँसाउनै पर्छ भन्ने मान्यताले संकुचित हुँदा नेपालमा अनेकन जनराको सिनेमाहरु नबनिरहेको अवस्था छ,” मनोज फेसबुकमा लेख्छन्, “मनोविज्ञानको अध्ययनबाट के कुरा संशलेषित भएको छ भने समस्याको सकसबाट समाधानको प्राप्तिको क्षण हरेक मानवका लागि रमाइलो अवस्था हो ।”
यसको सबैभन्दा सरल उदाहरण पिसाबले च्यापेर ¥याख¥याखती पारेपछि पिसाब फेर्न पाउँदा अत्यन्त आनन्द र रमाइलो हुने अनुभूति रहेको उनले बताएका छन् ।
चलचित्रको रमाइलो पनि त्यही पिसाब फेर्नेजस्तै हो भनेर श्रष्टाहरुले बुझेको दिनदेखी नेपाली सिनेमाले रोमाञ्चकताको सगरमाथा चढ्न थाल्ने उनको विश्वास छ । “हरेक सिनेमा लेखकहरूलाई कम्तिमा पिसाब सम्झन सल्लाह गर्दछु । यही पिसाब थ्योरीले (श्रृजनात्मक) नेपाली सिनेमामा क्रान्ती ल्याउनेछ,” उनले लेखेका छन् ।
मनोज आफैँ पनि पछिल्लो समय लगातार दुई सिनेमा असफल भएपछि केही समय ब्रेक लिएर बसेका निर्देशक हुन् । उनी अहिले स्क्रिप्टको डक्टरिङ गर्दै आएका छन् ।
मनोज पनि चलचित्र बनाउने तयारीमा छन् । उनले भने ‘पिसाब थ्योरी’ युज गर्छन् अथवा यही कमेडीकै पछि लागेर आउँछन्, त्यो भने हेर्न बाँकी छ ।