‘महाभोज’को विषय सहकारीपीडितबारे के भन्छन् दयाहाङ ?

काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित रहेको बताएका छन् ।
चलचित्रले आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट नियत र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने यथार्थ चित्रण गर्ने बताए ।
“नेपालमा आर्थिक क्रान्ति ल्याउनको लागि सहकारी संस्थाहरूको स्थापना सुन्दर अभ्यास थियो,” उनले भने, “तर, ती संस्थाको पहुँचमा रहेका व्यक्तिले सर्वसाधारणको पैसा अपचलन गर्दै आएका छन्, जुन समस्या अहिलेको मात्र होइन, धेरै पहिले देखिको हो ।”
उनका अनुसार ‘महाभोज’ केवल कथानक होइन, त्यो एक प्रश्न हो, यस्तो किन भइरहेको छ ? कसको महत्त्वाकांक्षाले यस्तो हुन्छ ? यी सबै प्रश्नहरूको उत्तर चलचित्रले खोजेको उनले बताए ।
दयाहाङले चलचित्रले संसारभर रहेका नेपालीहलाई छुने विश्वास व्यक्त गरे । “मैले यति प्रतिशत भन्दिन तर महाभोजले हरेक नेपालीलाई छोइहाल्छ । यो आम जनताको कथा हो,” उनले भने ।
चलचित्र ‘महाभोज’ को कथा सहकारी संस्थाका नाममा सर्वसाधारणले जम्मा गरेको रकम अपचलन गर्नेहरू र त्यसबाट सिर्जना भएको वर्ग संघर्ष, पारिवारिक, सामाजिक तथा नैतिक संकटको वरिपरि घुम्छ ।
यो चलचित्र जेठ १५ गते बिहीबारदेखि प्रदर्शनमा आउन लागेको छ ।
चलचित्रमा दयाहाङसँगै आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहजस्ता कलाकारको अभिनय छ ।
‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका छन् ।