‘बलिदान’मा ‘रुद्रा’ बनेका सौगात मल्ल देखिए फरक

काठमाडौं । चर्चा र प्रतिक्षामा रहेको चलचित्र ‘बलिदान’मा सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।
निर्देशक सन्तोष सेनले ‘बलिदान’मा सौगात ‘रुद्रा’को भूमिकामा रहेको बताएका छन् । उनले सार्वजनिक गरेको पोस्टरमा सौगात एक्सन भूमिकामा रहेको प्रष्ट छ ।
हातमा खुँडा बोकेका उनी रिभेन्ज लिइरहेको प्रष्ट देखिन्छ । डादसैँको फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रका पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन् ।
पोस्टरमा मल्लको एउटा आँखा कालो रङको छ । उनले लामो दाह्री, कपाल र गाढा रङको लुगा लगाएका छन् । उनको हातमा एउटा बलिरहेको राँको देखिन्छ । पृष्ठभूमिमा अन्य मानिसहरूको समूह र आगोको ज्वालाहरू पनि देख्न सकिन्छ, जसले चलचित्रको कथावस्तु द्वन्द्वात्मक रहेको जानकारी दिन्छ ।
अर्को पोस्टरमा अभिनेता मल्लले हातमा हतियार बोकेर लडाइको परिवेशमा देखिएका छन् ।
यसअघि ‘बलिदान’का प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर प्रि–टिजर सार्वजनिक गरिएको थियो, जहाँ समीर देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र एक्सन दृश्यसहित देखिएका थिए ।
आसुसेन फिल्म्स् प्रा.लि. को प्रस्तुति रहेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।