पोस्टरमै अड्किएको ‘सिटामोल’!, सौगात र बेनिशाका दिनदिनै नयाँ लुक्स

काठमाडौं । चलचित्र ‘सिटामोल’ आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माणपक्षले सोमवार थप तीन नयाँ पोस्टर सार्वजनिक गरेको छ ।
सार्वजनिक तीन मध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक देखिएका छन् । दोस्रो पोस्टरमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आआफ्नो पात्र अनुसारको भूमिकामा प्रस्तुत छन् ।
यस्तै सार्वजनिक तेस्रो पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ललाई मात्रै स्थान दिइएको छ । उनी बैशाखीको साहाराले निराश भावमा कतै हिडिरहेको बुझ्न सकिन्छ । सार्वजनिक पोस्टरले दर्शकमाझ सिनेमाप्रति उत्सुकता थप्ने विश्वास निर्माण टिमको छ ।
तर, प्रचारप्रसारको दृष्टिकोणले हेर्दा निर्माण टिम पोस्टर र लुक्स सार्वजनिक गर्नमै सीमित देखिएको छ । ‘सिटामोल’को निर्माण टिमले सुरुवातमा चलचित्रको छायाकन सकिएकै दिन सौगात र बेनिशाको पात्र झल्को दिने केही तस्विर सार्वजनिक गरेको थियो । त्यस यता नयाँ वर्षको क्षेको पारेर रिलिज मिति घोषणासँगै सौगात र बेनिशालाई नै फिचर्ड गर्दै नयाँ पोस्टर सार्वजनिक गरेको थियो ।
निर्माणपक्षले सोमवार फेरि सार्वजनिक गरेका तीन वटा नयाँ पोस्टर हेर्दा लाग्छ कि पोस्टरकै प्रदर्शनी हो? यी सबै पोस्टरले कथाको झलक दिन खोजेपनि “कथा हैन, कन्फ्युजन दिन थालेको छ!”
अझ रमाइलो त के छ भने, हालैका दिनमा सौगात र बेनिशाको प्रमुख भूमिका रहेको अन्य सिनेमाका पनि लुक्स सार्वजनिक भएका छन् । दुई दिनअघि मात्रै चलचित्र ‘बलिदान’ बाट सौगातको चरित्र चित्रण गर्ने नयाँ पोस्टर सार्वजनिक गरिएको थियो ।
आइतवार मात्रै सौगात र बेनिशाकै मुख्य भूमिका रहेको अर्को चलचित्र ‘कल्ली’को फस्टलुक सार्वजनिक गरियो । हिजो नै चलचित्र ‘द ब्ल्यू लाइट’को निर्माणपक्षले बेनिशा पोस्टर सार्वजनिक गरेको थियो । यसरी दैनिकरुपमा सौगात र बेनिशाका एकपछि अर्को चलचित्रका चश्मा हेरेर थाहा पाउनुपर्छ कुन सिनेमाको पोस्टर हो?!
चलचित्र ‘सिटामोल’मा सौगात, बेनिशा, श्री कृष्ण, जानुका र करणसहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
‘सिटामोल’ मार्फत् निर्माता तथा निर्देशकले बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको छन् । सिनेमाले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने सिनेमा निर्माण गरेको भनाई निर्देशक तथा निर्माताको रहेको छ ।
‘सिटामोल’मा सौगात र बेनिशाले श्रीमान-श्रीमतीको भूमिकामा छन्, जहाँ सौगातले जनयुद्धमा घाइते भएको पात्र निर्वाह गरेका छन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।
दिव्य सुवेदीले खिचेको चलचित्रमा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।
यो पनि पढ्नुहोस्
‘बलिदान’मा ‘रुद्रा’ बनेका सौगात मल्ल देखिए फरक
‘द ब्ल्यू लाइट’को पोस्टरमा छल्किएको बेनिशाको तनाव
फागुन १ मा ‘कल्ली’ रिलिज ,बाघसँग देखिए सौगात मल्ल
‘बलिदान’को फर्ष्ट लुक्समा सौगात नै हुन्, चिनिन्छन् ?