राजेश हमालका डुप्लिकेट सितल केसी पनि हराए ?

काठमाडौं । करिब २१ वर्ष अगाडि नेपाली कला क्षेत्रमा एउटा व्यक्ति पदार्पण भयो । उनलाई देखेर मान्छे आश्चर्य चकित परे । कारण अरु केही थिएन, उनको अनुहार थियो ।

उनको अनुहार हुबहु राजेश हमालको जस्तै थियो । परबाट मात्रै होइन नजिकैबाट हेर्दा पनि हुबहु राजेश हमाल जस्तै । हुँदाहुँदा उनको हेयरस्टाइल पनि राजेशको जस्तै । त्यसैले उनलाई धेरैले भने– राजेश हमालको फोटोकपी । साँच्चे खारिएका र निखारिएर आए भने उनी राजेश जस्तै लोकप्रिय हुनसक्छन् ।

अर्घाखाँचीको घुम्ती नरपानीमा जन्मिएका उनी विद्यार्थी जीवनमै ‘हिरो’ भनेर चिनिन्थे । कारण राजेश हमालसँग मिल्ने उनको लुक्स नै थियो । हिरो÷हिरोइनको पोस्टर बिक्ने समयमा दुस्त देखिने व्यक्तिको चर्चा हुनु स्वभाविक नै थियो ।

उनले थुप्रै चलचित्रमा काम पनि गरे । ‘जाल’, ‘आफन्तको माया’, ‘पापी संसार’, ‘मेरो राजेश दाइ’, ‘जाल’, ‘द्वन्द्व’ ‘दिवानापन’, ‘त्रिदेब’, ‘एक पलको जीवन’, ‘हाम्री चेली’, ‘दिपशिखा’, ‘समाली राख है’, ‘वीर बहादुर दंग पर्छ’ लगायत थुप्रै चलचित्रमा उनले अभिनय गरे । संयोग कस्तो पनि जुर्यो भने उनले राजेश हमालसँगै पनि काम गरे । ‘मेरो राजेश दाइ’मा उनले राजेशसँगै काम गरे ।

चलचित्रसँगै सितलले थुप्रै म्युजिक भिडियोमा पनि काम गरेका छन् । पछिल्लो समय भने चलचित्रमा उनको सक्रियता पातलिएको छ । उनी चलचित्रमा नदेखिएको थुप्रै भयो ।

एक वर्ष अगाडि सितले मोफलको एक पत्रिकलाई दिएको अन्तर्वार्तामा भविष्यको योजना के छ भन्ने प्रश्नमा कला क्षेत्रमा २० वर्ष बिताइसके पनि आफ्नो यात्रा यहीँ समाप्त नभएको बताएका थिए । यसको कारण अहिले पनि उनी सिनेमामा अफरको पखाइमा छन् ।

उनी सिरियल हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । सिरियल ‘गहना’, ‘वंश’, ‘तिमी पुरुष’, ‘भाग्य आ आफ्नो’, ‘शंका’, ‘आफन्त’, ‘यात्रा ‘जीन्दगीको’, ‘झड्का’लगायतमा उनले काम गरेका छन् ।

“म अझै नयाँ चुनौतीहरूको सामना गर्न र अझ उत्कृष्ट काम गर्न चाहन्छु । भविष्यमा म नेपाली चलचित्र उद्योगमा अझ ठूलो योगदान दिन चाहन्छु । यात्रा यस क्षेत्रमा अझै लामो र सफल हुनेछ भन्ने विश्वास छ,” उनले भनेका थिए ।

सिनेमामा काम नगरेको लामो समय भए पनि सितलका गीत भने फाट्टफुट्ट आइरहेका छन् ।