अब सिंगो सिनेमा उद्योग ‘गौँथली’का पछि नकुदोस्
नेपालीमा एउटा उखान छ– जसो–जसो पण्डित बाजे, उसै–उसै स्वाहा ! यसको अर्थ होममा बसेका पण्डितले जे–जे भन्छन्, त्यसै–त्यसै गर्दै जाने हो ।
यो उखान नेपाली चलचित्र उद्योगमा ठ्याक्कै मेल खान्छ । नेपाली सिनेमाको मेकिङमा जब कसैले एउटा चलचित्र बनाएर बक्सअफिसमा पैसा कमाउँछ, अरुले पनि त्यस्तै–त्यस्तै चलचित्र बनाउँछन् ।
‘लुट’ चल्यो । त्यस्तै सिनेमा बनाउने लहर चल्यो । ‘छक्का पञ्जा’ चल्यो त्यस्तै सिनेमा बनाउने लहर नै चल्यो । ‘कबड्डी’ चल्यो । त्यस्तै सिनेमा बनाउने लहर नै चल्यो । ‘पूर्ण बहादुरको सारङ्गी’ चल्यो । त्यस्तै सिनेमा बनाउने लहर नै चल्यो ।
यो वर्ष ‘गौँथली’ चल्यो । अब यस्तै सिनेमा बनाउनेको लहर चल्छ । सामान्तः नेपाली सिनेमा उद्योगमा कुनै एउटा सिनेमा चल्यो भने यस्तो सिनेमा दर्शकले मन पराउने रहेछन् भनेर त्यस्तै सिनेमा बनाउने निर्माता र निर्देशकको भीड नै लाग्छ । त्यसैले अब ‘गौँथली’ चलेपछि यस्तै चलचित्र बनाउने हो, पैसा कमाउने हो भन्ने उद्देश्यले मेकरहरू यस्तै कथा खोज्दै सिनेमा बनाउन लाग्नेछन् ।
तर, कुनै पनि सिनेमा त्यसै चल्दैन । त्यसमा आइरहेका भन्दा फरक पन हुनैपर्छ । किनकि दर्शकले हरेक समय फरक टेस्ट र पात्र खोजिरहेको हुन्छ । बलिउड फर्मुलाका सिनेमाले दिक्क भएका बेला ‘लुट’ फरक टेस्ट बोकेर आउँदा रुचाइएको थियो ।
सटायरिक कमेडी सिनेमाको अभावका बेला ‘छक्का पञ्जा’ आउँदा दर्शकले स्वागत गरेका थिए । आफ्नै मौलिक गाउँको रैथाने पात्र र परिवेशलाई टिपेका कारण ‘कबड्डी’ चलेको थियो । तर, लगत्तै त्यस्तै दर्जनौँ सिनेमा आउँदा दर्शकले वास्तै गरिदिएनन् ।
अहिले ‘गौँथली’ किन चल्यो होला भने महिलाका दुःखका कथामा सिनेमा बनेका थिए । बाउले सन्तानका लागि गरेको संघर्षका सिनेमा बनेका थिए । प्रेम, बिडोड र रिभेन्जका सिनेमा बनेका थिए । तर, मुख्य पुरुष पात्र डिसेबल भएका सिनेमा नआएको थुप्रै भइसकेको थियो, सायद यही कारण चल्यो ।
हो, यो फरक पनलाई मेकरले केलाउने हो, लहडका भरमा पछि लाग्ने होइन । इमानदार भएर केही फरकपनसहितको कथा भन्ने हो भने त्यही नै क्लिक हुन्छ । हुबहु नक्कल गरेर सिनेमा चल्दैनन् । त्यसैले अब ‘गौँथली’ जस्तै सिनेमा बनाएर चल्दैन, बरु यस्तै केही फरकपन सहितको कथा इमान्दार भएर भन्ने हो भने दर्शकले रुचाउन सक्लान् ।




