इन्टरनेसनल फिल्म फेस्टिभलमा पुग्ने पहिलो नेपाली सिनेमा कुन हो, कसरी बनेको थियो ?

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र इन्टरनेसनल फिल्म फेस्टिभलमा पुग्नु सामान्य जस्तै भइसकेको छ । कारण हरेक वर्षजस्तो नेपाली फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्री इन्टरनेसनल फिल्म फेस्टिभलमा पुगिरहेका हुन्छन् ।
बाक्लै संख्यामा नेपाली सिनेमा इन्टरनेसनल फिल्म फेस्टिभलमा पुगे पनि यो यात्रा सहज छैन । त्यसैले अहिले पनि इन्टरनेसनल फिल्म फेस्टिभलमा पुग्ने सिनेमालाई अहिले पनि उत्तिकै इज्जतका साथ हेरिन्छ ।
इन्टरनेसनल फिल्म फेस्टिभलमा पुग्ने पहिलो सिनेमा ‘खाङग्री’ (निजी क्षेत्रबाट बनेको) हो । ‘खाङग्री’ २०५२ सालमा ट्रेन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा पुगेको थियो ।
‘खाङग्री’ त्यही चलचित्र हो, जसले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली सिनेमाको ढोका उघारिदिएको थियो । ‘खाङग्री’ले खोलेको ढोकाबाट अहिले थुप्रै नेपाली सिनेमा विदेश गइरहेका छन् ।
‘खाङग्री’लाई निर्देशक नवीन सुब्बाले निर्देशन गरेका थिए । सुन्दर श्रेष्ठ यसका निर्माता थिए ।
सुन्दरले अमेरिकी शैक्षिक संस्था फुलब्राइट कमिसनको जागिर छोडेर ‘खाङग्री’ निर्माण गरेका थिए ।
‘खाङग्री’मा हिमाली जनजीवनको कथा छ । शेपार्का कथा छ । हिमालको कथा छ । हिमाली सभ्यता, संस्कृति र रहनसहनको कथा छ ।
खुम्बु क्षेत्रमा पुगेर सुन्दरले लेखेको कथालाई नवीन सुब्बाले स्क्रिप्टमा रुपान्तरण गरेका थिए ।
सुरुमा सुन्दर ‘खाङग्री’को प्रोडुसरमा बस्ने सोचमा नरहे पनि अन्तितमा लगानीकर्ता नभएपछि उनी नै प्रोडुसर बनेका थिए ।
‘खाङग्री’को को–प्रोडुसर एपी शेर्पा हुन् । ‘खाङग्री’ हलमा सन् १९९५ मा लागेको थियो । तर, हलमा चलेर लगानी उठाएन । त्यो समय यस्ता सिनेमा चल्दैन थिए । सिनेमा छोटो पनि थियो । ‘खाङग्री’को लेन्थ ७७ मिनेट मात्रै थियो ।
नवीन, सुन्दर र एपी ‘खाङग्री’ लिएर फेस्टिभलमा गए । नेपालबाट विदेशी फिल्म फेस्टिभलमा गएको त्यो पहिलोपटक थियो । ‘खांग्री’ले उक्त फेस्टिभलमा स्पेसल जुरी अवार्ड पनि जितेको थियो ।
इटालियन फिल्म कम्पनीले ‘खाङग्री’को कपिराइट किन्यो । त्यो नेपालका निम्ति निकै ठूलो उपलब्धि थियो ।
स्लोभाकिया, अमेरिका, क्यानडाको फिल्म फेस्टिभलमा पनि ‘खांग्री’ नोमिनेसनमा परेको थियो ।