‘महानायक’को फितलो कमब्याक: एकै वर्ष दुई चलचित्र असफल, अब राजेश हमालको युग सकिएकै हो ?

काठमाडौं । कुनै समय नेपाली चलचित्र उद्योगमा एउटै नाम काफी थियो- राजेश हमाल । पर्दामा उनको प्रवेश हुनासाथ हलमा सिठ्ठी र तालीको गडगडाहट गुञ्जिन्थ्यो । पोस्टरमा उनको तस्बिर मात्रै हुनु पनि फिल्म ‘सुपरहिट’ हुने ग्यारेन्टी मानिन्थ्यो । तर, समयको चक्रसँगै नेपाली फिल्मको व्याकरण र दर्शकको रुचि बदलिएको छ । दशकौँसम्म ‘बक्स अफिस’मा एकछत्र राज गरेका हमालका लागि अहिले सफलता ‘एकादेशको कथा’ जस्तै बन्न पुगेको छ ।

सन् २०१६ मा प्रदर्शन भएको चलचित्र ‘सकुन्तला’ व्यावसायिक रूपमा असफल भएपछि हमालले अभिनयबाट लामो विश्राम लिएका थिए । करिब ८ वर्ष पर्दाबाहिर रहेका उनले यसै वर्ष (२०८१) ‘नरसिंहा अवतार’मार्फत कमब्याक गरे । लामो समयपछि पर्दामा देखिन लागेकाले उनलाई लिएर निकै उत्साह थियो । तर, फिल्मले बक्स अफिसमा करिब २ करोडको सामान्य व्यापार मात्र गर्‍यो, जसलाई हमालको ‘स्टारडम’ अनुसार सफल मानिएन ।

‘प्रवासी जीवन’ को कन्तबिजोग: २ लाख पनि उठाउन धौ-धौ

हमालको साखमा सबैभन्दा ठूलो धक्का भने हाल प्रदर्शनरत फिल्म ‘प्रवासी जीवन’ले दिएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा असफलको सामना गरिरहेको छ । प्राप्त जानकारी अनुसार, आइतबारसम्म फिल्मको देशभरको कुल व्यापार २ लाख रुपैयाँ पनि पुग्न सकेको छैन ।

हलहरूमा दर्शकको उपस्थिति ५ प्रतिशतभन्दा पनि न्यून छ । दर्शक अभावकै कारण उपत्यकाका धेरैजसो मल्टिप्लेक्स र एकल हलहरूले आइतबारदेखि नै फिल्मलाई शोबाट हटाइसकेका छन् । फिल्मको व्यापार यति कमजोर हुनुलाई चलचित्र क्षेत्रका पण्डितहरूले ‘महानायकको युगको अन्त्य’को संकेतका रूपमा विश्लेषण गर्न थालेका छन् ।

हमालको नाममा व्यापार गर्ने दाउ असफल

‘प्रवासी जीवन’मा राजेश हमाल मुख्य भूमिकामा छैनन् । उनले यसमा एक ‘मनोचिकित्सक’को सहायक भूमिका निर्वाह गरेका छन् । तर, फिल्मका निर्माता र निर्देशकले भने हमालको ‘क्रेज’ क्यास गर्न उनलाई नै मुख्य कलाकारको रूपमा प्रचार गरेका थिए । टिजर, ट्रेलरदेखि पोस्टरमा समेत उनलाई नै प्राथमिकता दिइएको थियो ।

स्वयम् हमाल पनि फिल्मको प्रचार-प्रसारमा निकै सक्रियताका साथ हिँडेका थिए । तर, दर्शकले कथावस्तु र निर्माण पक्षको कमजोरीलाई हमालको अनुहारले मात्रै छोप्न सकेनन् । परिणामस्वरुप, हमालको सक्रिय प्रचारका बाबजुद फिल्मले दर्शकलाई हलसम्म तान्न सकेन ।

एकै वर्ष दुईवटा फिल्म असफल भएपछि ६० वर्ष टेकेका अभिनेता हमालको आगामी करिअरलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएका छन् ।

नेपाली चलचित्रको ‘स्वर्ण युग’ को एउटा बलियो खम्बा मानिने राजेश हमालको यो अवस्थाले एउटा कुरा प्रष्ट पारेको छ, अबको सिनेमामा ‘नाम’ भन्दा ‘काम’ र ‘ब्रान्ड’ भन्दा ‘कन्टेन्ट’ नै प्रधान हुन्छ ।