नेपालमा सर्वसाधारणलाई सिनेमा हेर्न कहिले खुला गरिएको थियो ?

काठमाडौं । नेपाली सिनेमा उद्योगमा थुप्रै रेकर्ड छन् । सिनेमा स्वयंका, कलाकार, प्रविधि र लोकेशसनलगायत थुपै रेकर्ड छन् ।

तर, आज हामी अलि फरक खालको रेकर्डको चर्चा गर्दैछौँ । विगतमा उल्लेख गरेभन्दा भिन्नै खालको रेकर्ड आज हामी यहाँ चर्चा गर्नेछौँ ।

अहिले देशका हरेक ठूला सहरमा सिनेमा हल छन् । ठूला सहरमा एउटा मात्रै होइन दुई/चारवटासम्म हल छन् । जुन हलका हेर्न मन लाग्यो, त्यसमा गएर चलचित्र हेर्न सकिन्छ ।

नेपालमा सिनेमा हेर्ने परम्पराको विकास कसरी सुरु भयो, यो चासोको विषय हो । नेपालमा सर्वसाधारणका लागि सिनेमा हेर्न अनुमति कहिले, कसले र कसरी दिइयो होला ?

गोरखापत्रमा छापिएको सूचनाअनुसार देवशमशेरले काठमाडौंबासीलाई टुँडिखेलमा छोटाछोटा फिल्म देखाउन उर्दी जारी गरेका थिए । टुँडिखेलमा तमासा शीर्षकमा लेखिएको सूचनामा भनिएको छ । ‘श्री ३ महाराजबाट बेदाम्मा दुनियाहरुले हेर्न पाउन् भनी टुँडिखेलमा प्रोजेक्टास्कोप अर्थात् मानिसले चलफिर गरेको सब काम तस्बिरबाट सोही बमोजिम दुरुस्त देखिने तमासा विसं १९९८ वैशाख २६ देखि हुनेछ ।’

उक्त तमासा कसले कहाँ बसेर हेर्ने भनेर पनि त्यो उर्दीमा उल्लेख गरिएको थियो । उर्दीमा लेखिएको थियो, ‘सो तमासा हेर्नलाई अगाडि केटाकेटीहरु, तहाँपछि निज केटाकेटीका आमाहरु, वहाँपछि लोग्ने मानिसहरु, वहाँपछि बग्गीमा आउनेहरु अरुलाई नछेकने गरी रहनेछन् ।’

यसरी नेपालमा विसं १९९८ वैशाख २६ देखि सिनेमा हेर्ने संस्कारको विकास भएको पाइन्छ । तर, नेपालमा चलचित्र निर्माण भने क्रम भने त्यसको करिब २४ वर्षपछि विसं. २०२२ सालबाट सुरु भएको हो । नेपालको पहिलो चलचित्र २०२२ सालमा बनेको ‘आमा’ हो ।

२००६ मा सत्य हरिशचन्द्र बने पनि यो विदेशीले, विदेशी कलाकार राखेर बनाइएको सिनेमा थियो । यो नेपाली भाषामा मात्रै बनेकाले यसलाई पहिलो नेपाली सिनेमाको मान्यता दिइएन । यो सिनेमा २००३ भदौ २३ मा प्रदर्शनमा आएको थियो ।

‘आमा’ भने २०२२ असोज १५ गते प्रदर्शनमा आएको थियो । यो भन्दा अगाडि विदेशी सिनेमा, लघु सिनेमा र डकुमेन्ट्रीहरू देखाउने गरिन्थ्यो ।