किन प्रदीपले ‘लालीबजार’ निर्देशन गर्न अरुलाई दिए ?
काठमाडौं । ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ वैशाख १८ मा प्रदर्शन हुँदैछ ।
अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको उक्त फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्शकको ध्यान केन्द्रीत गरेको थियो । गर्भवती महिला शृंगार गरेर ढोकामा उभिएर हेरिरहेको पोस्टरले फिल्मको कथासार ब्याख्या गरेको थियो । फिल्ममा स्वस्तिमाले बादी महिलाको भूमिका निर्वाह गरेकी छिन् ।
‘बुलबुल’ र ‘चिसो मान्छे’पछि स्वस्तिमालाई पात्रले चर्चामा ल्याएको फिल्म ‘लालीबजार’ लाई उनले आफ्नो अभिनय यात्राको ‘टर्नीङ प्वाइन्ट’ मानेकी छिन् । अभिनय यात्रा प्रारम्भ गरेको दशकपछि पहिलोपटक अडिसन दिएर स्वस्तिमाले आफूलाई ‘लालीबजार’ को मधुवाला नामक पात्रको लागि तयार गरेकी थिइन् । फिल्मको सार्वजनिक गीत ‘मायालाई के दिउँ म बैना’ पछिल्लो समय युट्युब, टिकटक, रील्स र शट्समा लोकप्रिय छ ।
यस्तै, ‘मिठो संसार’ र ‘मै राम्री छु त नी’ पनि दर्शकले रुचाएका छन् । ‘जात्रा’ देखि षट्कोण आट्र्सले निर्माण गरेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका थिएँ । तर, यसपटक ’लालीबजार’ मा निर्देशनको जिम्मा यम थापालाई दिईएको छ । फिल्मको कथा पनि उनकै हो भने पटकथा निर्देशकद्वय भट्टराई र थापाले तयार गरेका छन् ।
षट्कोण आर्ट्सले तराईको विषयमा एउटा फिल्म बनाउने तयारी गरिरहदा पटकथामा सुझाव दिन निर्देशक यम थापासँग निर्देशक भट्टराई, निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीको भेट भएको थियो । सोही भेटले ’लालीबजार’ को सहकार्य जुराएको थियो । सुझाव दिन भेटघाट भएको पटकथामा छलफल भएपछि निर्देशक यम थापाले आफूसँग भएको बादी समुदायको पृष्ठभूमिमा तयार गरिएको आमा र छोरीको कथा सुनाएका थिए ।
सो कथा मन परेपछि षट्कोण आटर््सले फिल्म बनाउने तयारी सुरू गरेको थियो । डिजिटल माध्यममा पर्याप्त जानकारी उपलब्ध नभएपछि बर्दिया नै पुगेर अनुसन्धान गरेर फिल्मको कथालाई पूर्णता दिईएको निर्माण कम्पनिले बताएको छ । विशेषत बादी समुदायसँग जोडिएको विषय भएकाले पनि निर्माण कम्पनि षट्कोण आटर््सले निकै गम्भीरताका साथ पटकथा तयार गरेको थियो ।
बादी समुदायले गर्व गर्न सक्ने गरी फिल्म तयार गरिएको षट्कोण आटर््सको भनाइ छ । शनिवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको विषयमा निर्माता म्याक्स दीपेश खत्री, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, अभिनेत्री स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापासँगै डेब्यु कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीले छलफल गरे ।
विशाल थियटरमा अभिनेतासँगै निर्देशकका रुपमा काम गरिरहेका कलाकर्मी हुन् भने प्रशंसा जेनजी अभियन्तासँगै कन्टेन्ट क्रिएटरका रुपमा परिचित छिन् । यी दुवै आफ्नो डेब्यु फिल्मलाई लिएर निकै उत्साहित छन् ।
निर्माता म्याक्स दीपेश खत्रीले भने, “हामीले आफ्ना कामहरूमार्फत आफूलाई झनै परिपक्क बनेको महसुस ‘लालीबजार’ मा आइपुग्दा भएको छ । यसपटक हामीले एउटा समुदायको पृष्ठभूमिमा रहेर आमा र छोरीको कथालाई दर्शकसामू ल्याएका छौँ ।”
यसअघि ‘महापुरूष’मा बुवा र छोराको कथालाई देखाइएको बताएका उनले भने, “विषयवस्तुका हिसाबले हामीले निर्माण गरेका फिल्म मध्ये ‘लालीबजार’ उत्कृष्ट हो ।”
कार्यकारी निर्माता÷पटकथाकार प्रदीप भट्टराईले निर्देशक यम थापाबाट आफूहरूले खोजेजस्तै कथा पाएको बताए ।
“यमजीले आफूसँग भएको कथा हामीलाई दिनुभयो । त्यो पढेपछि हामीले फिल्म निर्माण गर्ने निर्णय लियौं । कथा बादी समुदायकी महिलाको भएकाले हामीले पटकथा तयार गर्दा धेरै छलफल र अनुसन्धान गर्यौं,” उनले भने, “नेपाली दर्शकलाई फरक किसिमको कथा पर्दामा ल्याउन हामीले सक्दो मेहनत गरेका छौँ । यो फिल्म हेरेपछि बादी समुदायको बारेमा दर्शकले थाहा पाउनु हुनेछ, अहिले हामी कहाँ आइरहेका धेरै जानकारी गलत पनि छन् । तर, यो विशुद्ध आमा र छोरीको कथा हो ।”
प्रायः षट्कोण आर्ट्सबाट बन्ने फिल्म प्रदीप निर्देशन गर्छन् । “तर यो कथा यमजीको भएको र उहाँ बर्दियाकै भएकाले कथालाई न्याय गर्नुहुन्छ भन्ने विश्वासका साथ हामीले निर्देशनको जिम्मा दिएका हौँ,” उनले भने, “हाम्रो निर्णय सही भएको हामीलाई थाहा छ, आगामी वैशाख १८ मा फिल्म प्रदर्शन भएपछि फिल्मकर्मीसँगै दर्शकले पनि थाहा पाउनु हुनेछ ।”
रवीन्द्रसिंह बानियाँले ‘लालीबजार’ले एउटी आमाको सङ्घर्षसँगै उसको ममतालाई देखाएको बताए । “यसमा मैले ‘टल्क जंग भर्सेस टुल्के’ पश्चात नकारात्मक भूमिका निर्वाह गरेको छु । एउटा शोसक र सामन्तको भूमिका छ,” उनले भने, “मलाई त्यो पात्र निर्वाह गर्दा नै गाह्रो भयो भने त्यहाँका दिदीबहिनीहरूले कसरी सहेर बस्नु भएको होला ? विषयको गम्भीरतालाई ध्यानमा राखेर हामीले फिल्म तयार गरेका छौँ ।” उनले ‘लालीबजार’ कमर्सियल सिनेमा भएको बताए ।
अभिनेत्री स्वस्तिमा खड्काले आउने धेरै वर्षसम्म कलाकारका रुपमा चिनाउने फिल्म ‘लालीबजार’ बन्नेमा विश्वस्त रहेको बताइन् । “यो फिल्ममा कलाकार बन्न पाएकोमा मैले आफूलाई ‘लक्की’ मान्छु । षट्कोण आटर््सले फिल्म निर्माण गर्ने भएकै कारण अभिनय यात्राको दश वर्ष पुरा भएपछि मैले ‘लुक टेस्ट’का लागि अडिसन दिएर फिल्ममा छनोट भएकी हुँ,” उनले भनिन् ।
“यो आमा र छोरीको कथा हो, तर मैले यसमा बादी महिलाको भूमिका निर्वाह गरेकी छु । आफ्नो पात्रलाई तयार गर्न म आफैँ बर्दिया पुगेर अनुसन्धान गरेकी थिएँ,” उनले भनिन्, “निकै उमेर हुनुभएका आमाहरुलाई भेटेर कुराकानी गरेकी थिएँ । मैले देखेको र बुझेको भन्दा भिन्नै संसारमा एउटा ‘मधुवाला’ पात्र भएर बाच्न पाएँ । मेरा लागि आगामी धेरै समयसम्म सम्झिने फिल्म बनेको छ ।



