‘लालीबजार’को भन्दा ‘रोल नं. १’को व्यापार ४ गुणा बढी !
काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली सिनेमाहरूको सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार पछिल्लो सातामा वैशाख २५ गते रिलिज भएको चलचित्र ‘लालीबजार’को भन्दा जेठ १५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रोल नं. १’ ले बढी कमाइ गरेको छ ।
पछिल्लो एक सातामा ‘लालीबजार’ले थप ३ लाख कमाउँदा ‘रोल नं. १’ले १३ लाख कमाइ गरेको छ । यो एक साताको व्यापारलाई मात्र हेर्दा ‘रोल नं. १’ को व्यापार ‘लालीबजार’ को भन्दा ४.३३ गुणा बढी छ ।
सोमबार बोर्डले सार्वजनिक गरेको सिनेपाः बक्स अफिस विवरण अनुसार पछिल्लो एक साता (आइतबार)सम्ममा चलचित्र ‘लालीबजार’ले हालसम्म ९ करोड ३१ लाख ७७ हजार ६९० रूपैयाँ ग्रस कमाइ गरेको छ । उक्त कमाइ हुँदा चलचित्रको ३ लाख १६ हजार ९३० वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ ।
बोर्डको गत साता (असार ७ गते) आइतबारसम्मको विवरण अनुसार यम थापा निर्देशित चलचित्र ‘लालीबजार’ले बक्सअफिसमा ९ करोड २८ लाख १४ हजार ५०५ रूपैयाँ ग्रस कमाइ गरेको थियो । पछिल्लो साता यसले ३ लाख ६३ हजार १ सय ८५ रुपैयाँ कमाइ गरेको छ ।
षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’लाई यम थापाले निर्देशन गरेका हुन् । यस चलचित्रमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरबल चौधरीलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता हुन् ।
यस्तै, सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोल नं. १’ ले हालसम्म १ करोड ६८ लाख ९५ हजार ९ सय ३८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रको ६५ हजार ३ सय ५ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ ।
यो चलचित्रले असार ७ गतेसम्म कुल १ करोड ५५ लाख ४६ हजार ६६८ रूपैयाँ ग्रस कमाइ गरेको थियो । पछिल्लो साता १३ लाख ४९ हजार २ सय ७० रुपैयाँ कमाइ गरेको छ ।
‘रोल नम्बर १’ले देशभरका सिनेमा हल ५० प्रतिशत छुटमा प्रदर्शनरत छ । टिकटमा सहुलियत थिएन भने यसको व्यपार २ करोड माथि हुन आउँथ्यो ।
जोन योञ्जनको निर्देशन रहेको चलचित्र ‘रोल नं. १’ मा मुकुन भुसाल, सुशांक मैनाली, रेणुनाथ योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्माता छत्रमाया गिरी र रमेश चौलागाईं हुन् । चलचित्रमा बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
यस वर्ष विसं २०८३ मा प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल सिनेमामध्ये एक हो भने चलचित्र ‘रोल नं. १’ यस वर्ष धेरै कमाउने सूचीको तेस्रो हो । दोस्रो स्थानमा ‘परालको आगो’ रहेको छ ।
यद्यपि, दुवै चलचित्रले प्राप्त गरेको यो आँकडा आगामी हप्ता कस्तो रहन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

