नेपालको पहिलो कमेडी सिनेमा कुन हो ?

काठमाडौं । नेपाली सिनेमा उद्योगमा रहेका थुप्रै रेकर्डमध्ये एउटा रेकर्ड ‘के घर केर डेरा’को नाममा छ ।

‘के घर केर डेरा’ नेपालको पहिलो कमेडी सिनेमा हो । विसं. २०४१ फागुन १ गते प्रदर्शनमा आएको यो सिनेमाले पहिलो हास्य सिनेमाको रेकर्ड बनाएको थियो । त्यसैले यो चलचित्रलाई कमेडी सिनेमाको जग बसाउने पहिलो सिनेमाको श्रेय जान्छ ।

‘के घर केर डेरा’लाई प्रदीप रिमालले निर्देशन गरेका थिए । शाही नेपाल चलचित्र संस्थानले निजी निर्माता जय अजिमा फिल्म प्रोडक्सनसँग मिलेर बनाएको पहिलो सिनेमा पनि हो । त्यसैले शाही नेपाल चलचित्र संस्थानले निजी निर्मातासँग मिलेर बनाएको पहिलो सिनेमाको रेकर्ड पनि यही सिनेमासँग छ ।

यो चलचित्रमा शुभबहादुर सुनाम र शम्भुजित बास्कोटाले संयुक्त रुपमा संगीत दिएका थिए । चलपचत्रमा पुरन जोशी, रवी शाह, गोपालराज मैनाली, शर्मिला मल्लसँगै मह जोडीको अभिनय रहेको थियो ।

यो चलचित्रको कथा मह जोडी र गोपालराज मैनालीले लेखेका थिए । पटकथा र संवाद निर्देशक प्रदीप रिमालको थियो । श्याम मोहन श्रेष्ठले छायांकन गरेका थिए ।

पछि यही नाममा ‘के घर के डेरा’ दीपेन्द्र के खनालले निर्देशन गरे । उनै दीपेन्द्रले ‘के घर के डेरा : घर नं २’ पनि निर्देशन गरे । यी दुई सिनेमामा विपीन कार्की, दयाहाङ राई, वर्षा राउतलगायतको अभिनय रहेको थियो ।