‘लालीबजार’ विवाद: एकातिर अदालतमा रिट, अर्कोतिर बादी समुदायकै समर्थन
काठमाडौं । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘लालीबजार’ प्रदर्शनको संघारमा पुग्दा विवाद र समर्थनको घेरामा छ ।
एकातिर यो चलचित्रले आफ्नो समुदायको आत्मसम्मानमा चोट पुर्याएको भन्दै उच्च अदालतमा रिट दायर भएको छ भने अर्कोतिर सोही समुदायका अगुवाहरूले चलचित्रले न्याय र विद्रोहको कथा बोलेको भन्दै यसको खुलेर प्रशंसा गरेका छन् ।
वादी समुदायको तर्फबाट रोशनी नेपालीले सोमबार उच्च अदालत पाटनमा चलचित्र विरुद्ध उजुरी दर्ता गराएकी छिन् । चलचित्रले आफ्नो समुदायको मान-मर्यादा र प्रतिष्ठामा आघात पुर्याउने दाबी गर्दै यसको प्रदर्शनमा रोक लगाउन माग गरिएको छ ।
अदालतमा रिट दायर भएकै दिन काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमा बादी समुदायका विभिन्न अभियन्ताहरूले भने चलचित्रको पक्षमा आफ्नो धारणा राखेका छन् । उनीहरूले चलचित्र हेरिसकेको र यसमा आपत्तिजनक कुनै पनि विषय नरहेको स्पष्ट पारेका छन् ।
बादी अभियन्ता देवीसरा बादीले भनिन्, ‘हामीले फिल्म हेरिसकेका छौँ । केही शब्दमा हाम्रो आपत्ति थियो, जुन निर्माण पक्षले हटाइसकेको छ । यो कथाले हाम्रो भावनामा ठेस पुर्याएको छैन, बरु हाम्रो सङ्घर्ष र विद्रोहको कथालाई सशक्त ढङ्गले उठाएको छ । यसले हामीलाई अधिकारको लागि लड्न हौसला दिन्छ ।’
उनले पत्रकार सम्मेलनमा सरादेवीले आफ्नो संस्थाका महिलालाई सिनेमा देखाउने समेत बताइन ।
यस्तै, अर्का अभियन्ता हिक्मत बादीले यो फिल्म एक आमाले आफ्नो सन्तानका लागि गर्ने सङ्घर्षको कथामा भएको बताए ।
‘शासक र शोषकबाट आमाले बचाउन गरेको यो सङ्घर्षले बादी महिला मात्र होइन, अन्य समुदायका महिलालाई पनि अन्याय विरुद्ध लड्ने शक्ति दिन्छ,’ उनले भने, ‘आपत्तिजनक शब्द हटाइसकेपछि फिल्म रोक्नुपर्ने कुनै कारण छैन ।’
चलचित्र ‘लालीबजार’मा साशक र सोशकबाट आमाले बचाउन गरेको सङ्घर्षले बादी महिलासँगै अन्य समुदायका महिलालाई पनि अन्याय विरुद्ध लड्न बल दिने उनको भनाइ छ ।
त्यसैगरी, अभियन्ता रमा बादीले प्रतिकात्मक रूपमा भनिन्, ‘जबसम्म लुकेको घाउ देखाइँदैन, तबसम्म डाक्टरले उपचार गर्न सक्दैन । यो फिल्मले हाम्रो समाजको त्यही लुकेको यथार्थलाई ऐना देखाएको छ ।’
‘हामी फिल्म हेर्ने मनसायले आएका थिएनौं, हामी हाम्रो सरकारसँग गरिएको सम्झौता किन कार्यन्वयन भएन् भनेर सिंहदरबार पुगेका थियौँ । त्यहाँ हाम्रो समुदायको कथामा फिल्म बनेको छ भन्ने थाहा पाएपछि हामीले हेरेका हौँ । हामीले हाम्रो राय पनि दिईसकेका छौँ । यो फिल्म मूलतः आमा र छोरीको कथा हो । शासकले शोसन गरेको आमाले आफ्नो छोरीका लागि लड्ने लडाई हामी सबैका लागि प्रेरणा छ । यो हाम्रो आमाको कथा हो, जसले हाम्रो लागि लडीन्’, उनले भनिन् ।
निर्माता संघले भन्यो– लगानी र सिर्जनामाथिको प्रहार
‘लालीबजार’को विषयमा चलचित्र निर्माता संघले प्रदर्शनको अन्तिम तयारीमा रहँदा चलचित्रमाथि भएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष उदय कुमार ईङ्नामले मंगलबार एक विज्ञप्ति जारी गर्दै राज्यको वैधानिक निकायबाट अनुमति पाइसकेको चलचित्रलाई रोक्न खोज्नुले स्वतन्त्र लगानीकर्ताको मनोबल कमजोर पार्ने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘करौडौँको लगानी र सयौँ प्राविधिकको मेहनतमा निर्माण भएको फिल्मलाई प्रदर्शनको मुखमा आएर प्रभावित पार्न खोज्नु सिर्जनशीलतालाई कुण्ठित गर्ने प्रयास हो । विधिको शासन र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै निर्बाध प्रदर्शनको वातावरण निर्माण गर्न हामी अदालत र सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ ।’
यम थापाको कथा तथा निर्देशनमा तयार भएको यस चलचित्रमा वादी समुदायका महिलाहरूले आफ्नो पहिचान र अस्तित्वका लागि गर्ने संघर्षलाई मुख्य विषय बनाइएको निर्माण टिमको भनाइ छ ।
‘लालीबजार’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले ‘युनिभर्सल’ सर्टिफिकेट प्रदान गरिसकेको छ । यो चलचित्र सबै उमेरका दर्शकले हेर्न मिल्ने छ ।
चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ ।
चलचित्र ‘लालीबजार’को कार्यकारी निर्मातामा प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।
मुख्यतया आमा र छोरीको भावनात्मक सम्बन्ध र सामाजिक शोषण विरुद्धको लडाइँलाई समेटेको यो चलचित्र आगामी वैशाख १८ गते देखि देशभरका सिनेमा घरमा प्रदर्शन हुने तालिका रहेको छ । अब अदालतको फैसला र समुदायको मिश्रित प्रतिक्रियाका बीच यसले कस्तो व्यावसायिक मोड लिन्छ, त्यो भने हेर्न बाँकी छ ।




