प्रवासमा बनेको पहिलो नेपाली चलचित्र कुन हो ?

काठमाडौं । चलचित्र ‘परालको आगो’को नाममा पनि एउटा रेकर्ड छ । तर, अहिले हलमा प्रदर्शन भइरहेको ‘परालको आगो’ होइन । प्रताप सुब्बाले निर्देशन गरेको चलचित्र ‘परालको आगो’को नाममा ।

प्रताप सुब्बाले निर्देशन गरेको चलचित्र ‘परालको आगो’ प्रवासबाट बनेको पहिलो नेपाली चलचित्र हो । यो नेपाल बाहिर बनेको पहिलो नेपाली चलचित्र थियो । यो चलचित्र दार्जिलिङबाट बनेको थियो ।

‘परालको आगो’को प्रदर्शन विसं २०३४ चैत १ गते भएको थियो । गुरुप्रसाद मैनालीको कथामा बनेको यो फिल्ममा टंक शर्मा र बसुन्धरा भुसालको मुख्य भूमिका रहेको थियो । मेनुका प्रधान र आईके सिंह पनि यो चलचित्रको मुख्य भूमिकामा नै थिए ।

यो चलचित्रमा शान्ति ठटालले संगीत दिएकी थिइन् । सिनेमामा उनले संगीत दिएको यो पहिलो सिनेमा थियो । यो चलचित्रमा उनले संगीत दिँदा अर्को नयाँ रेकर्ड पनि बनेको थियो, शान्ति ठटाल नेपाली चलचित्रमा संगीत दिने पहिलो महिला संगीतकार भइन् ।

यो चलचित्रलाई गंगाधर नस्कारले सम्पादन गरेका थिए । सुनील चक्रवर्तीको सिनेमेटोग्राफी रहेको थियो ।

‘परालको आगो’मा मनबहादुर मुखिया र इन्द्र थपलियाको गीत रहेको थियो ।

२०८३ मा पुनः यही नाम र सोही कथामै ‘परालको आगो’को बनेर प्रदर्शन भइरहेको छ । यसलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् । सौगात मल्ल, प्रकाश सपूत, र सुहाना थापा मुख्य भूमिकामा छन् ।