दर्शकले मन पराए ‘लालीबजार’, हलमै रोए दर्शक

काठमाडौं । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ लाई दर्शकले मन पराएका छन् ।

चलचित्र प्रदर्शन भएदेखि नै फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, नव अभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, निरमाया म्याक्स दीपेश खत्री लगायतको टिम काठमाडौं उपत्यकाको विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन् ।

सपरिवार नै दर्शक बनेर हल आइपुगेकाहरू फिल्म सकिँदै गर्दा रुँदै बाहिरिएका छन् । फिल्मले आफ्नो आमाको महत्व र छोरीप्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन् ।

एकल आमाले संघर्ष गरेर छोरीलाई पढाउने विषयले आँशु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ । पहिलो दिन झैँ निर्माण टिम दोस्रो दिन शनिवार पनि उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक भेटघाट गरिरहेको छ ।

अभिनेत्री स्वस्तिमा खड्काले दर्शकले दिएको माया र प्रक्रियाले आफू उत्साहित भएको बताइन । “हामीले फिल्ममार्फत जे भन्न खोजेका थियौँ, र देखाउन खोजेका थियौँ त्यसलाई दर्शकले स्पष्ट रुपमा बुझ्नु भएको छ । महिला मात्र होइन, पुरुष दर्शकको आँखा पनि रसाएका छन्,” उनले भनिन्, “फिल्म हेर्नेले यो कुनै समुदाय वा वर्ग विशेषको नभई सम्पूर्ण आमा र छोरीको कथा भन्नुभएको छ । म मात्र नभई सम्पूर्ण टिम नै दर्शकको प्रतिक्रियाले उत्साहित छौँ ।”

‘लालीबजार’ निर्देशक तथा लेखक यम थापाले फिल्मको बारेमा गरिएको अड्कलबाजी फिल्म हेरेपछि स्पष्ट हुने बताए । उनले सपरिवार नै आनन्दले फिल्म हेर्न सकिने बताए ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।