‘लालीबजार’ निर्माणपक्षले भन्यो– दर्शक रुँदै हलबाट बाहिरिरहनु भएको छ
काठमाडौं । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ लाई दर्शकले साथ दिएका छन् । फिल्म प्रदर्शन भएदेखि नै फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, नव अभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, निरमाया म्याक्स दीपेश खत्रीलगायतको टिम काठमाडौँ उपत्यकाको विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन् ।
सपरिवार नै दर्शक बनेर हल आइपुगेकाहरू फिल्म सकिँदै गर्दा रुँदै बाहिरिएका छन् । फिल्मले आफ्नो आमाको महत्व र छोरीप्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन् । एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँशु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ । दर्शक रुँदै हलबाट निस्किएर प्रतिक्रिया लिन पुगेका दर्शकलाई धन्यवाद दिईरहेका छन् ।
पहिलो दिन शुक्रबार, दोस्रो दिन शनिवार झैँ आज आइतबार पनि काठमाडौं उपत्यका भित्रका विभिन्न हलमा पुगेर कलाकार दर्शकसँग भेटघाट गरिरहेका छन् । अभिनेत्री स्वस्तिमा खड्काले दर्शकले दिएको प्रतिक्रियाले आफू उत्साहित भएको बताइन् ।
“हामीले फिल्ममार्फत देखाएको विषयलाई दर्शकले स्पष्ट रुपमा बुझ्नु भएको छ । महिला मात्र होइन, पुरुष दर्शकको आँखा पनि रसाएका छन्,” उनले भने, “फिल्म हेर्नेले यो कुनै समुदाय वा वर्ग विशेषको नभई सम्पूर्ण आमा र छोरीको कथा भन्नुभएको छ । सपरिवारलाई नै दर्शकका रुपमा हलमा पाउँदा उत्साहित छु ।”
अभिनेत्री खड्कासँगै हल पुगेका डेब्यु अभिनेता विशाल देवकोटालाई दर्शकले राम्रो अभिनय गरेको भन्दै प्रतिक्रिया दिए ।
डेब्यु अभिनेत्री प्रशंसा सुवेदीले सबै वर्गका दर्शकले फिल्मलाई माया दिईरहेको बताइन । जेनजी अभियन्ताकी रुपमा चिनिकिए कन्टेन्ट क्रिएटर प्रशंसाले फिल्ममा स्वस्तिमाको छोरीको भूमिका निर्वाह गरेकी छिन् ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।




