एक्टिङ पढेर चलचित्रमा आएकी प्रथम नेपाली अभिनेत्री को हुन् ?
काठमाडौं । नेपाली सिनेमा उद्योगमा थुप्रै रेकर्ड छन् । कुनै व्यक्तिका नाममा, कुनै संस्थाका नाममा, कुनै चलचित्रका नाममा ।
जे होस् चलचित्र उद्योगमा नयाँ नयाँ चलचित्र बनिरहँदा र नयाँ नयाँ व्यक्तिको प्रवेश भइरहँदा नयाँ नयाँ र फरक फरक रेकर्ड पनि बनिरहेका छन् । यस्तै एउटा रेकर्ड नायिका चैत्यदेवीका नाममा छ ।
नेपाली चलचित्र इतिहासमा अभिनय नै अध्ययन गरेर आएकी अभिनेत्री हुन् चैत्यदेवी । नेपाली सिनेमा उद्योगमा सबैभन्दा पहिला अभिनय सिकेर आएकी नायिका हुन् उनी ।
चैत्यदेवीले मस्कोस्थित अल युनियन स्टेट इन्स्टिच्युट अफ सिनेमाटोग्राफीमा स्टेज एन्ड सिनेमा एक्टिङमा ६ वर्ष लगाएर मास्टर्स गरेकी थिइन् । यसरी सर्टिफाइट भएर चलचित्र क्षेत्रमा प्रवेश गरेकी चैत्यदेवीले नेपालमै बनेको पहिलो चलचित्र ‘आमा’ हुँदै ‘कुमारी’लगायत दर्जनौँ चलचित्रमा काम गरेकी छन् ।
सुरुमै अथवा पहिलो चलचित्रमै अभिनय पढेर आउने अभिनेत्री पाउनु आफैँमा राम्रो पक्ष थियो । नेपाली चलचित्रले ६ दशक लामो यात्रा तय गरिसक्दा अझै पनि अभिनय नै पढेर सिनेमामा प्रवेश गर्ने नायिकाको संख्या निकै कम छ ।
चैत्यदेवी नेपालको पहिलो चलचित्र ‘आमा’ कि पनि आमा हुन् । उनी कलाकार संघकी आजीवन सदस्य हुन् ।
चैत्यदेवीलाई नेपाली सिनेमाकी ‘पायोनियर अभिनेत्री’का रूपमा लिइन्छ । नेपाली चलचित्र उद्योगको जग बसाल्ने कलाकारमध्ये उनी पनि अग्रपंक्तिमा आउँछिन् । उनी जुन समय नेपाली सिनेमामा सक्रिय थिइन्, त्यो समय प्राय महिला घरबाहिरको काममा कमै मात्रै निस्किन्थे ।


