नेपालको पहिलो मल्टिप्लेक्स हल कुन हो ?
काठमाडौं । नेपाली सिनेमा उद्योगमा सिनेमा हलहरूका नाममा पनि थुप्रै रेकर्ड छन् । ती मध्ये एउटा रेकर्ड सिनेमा हल गोपीकृष्णमुभिजको नाममा पनि छ ।
यो सिनेमा घर २०५३ जेठ २० गतेबाट प्रदर्शनमा आएको थियो । यो सिनेमा घर, त्यही हो जो नेपालको पहिलो मल्टिप्लेक्स हल हो । अथवा गोपीकृष्णमुभिजको नाममा नेपालको पहिलो मल्टिप्लेक्स हलको रेकर्ड छ ।
यसअघि नेपालमा जति पनि सिनेमा हल थिए, ती सबै सिंगल स्क्रिन थिए । त्यसैले नेपालमा मल्टिप्लेक्स हलको सुरुवात गर्ने श्रेय गोपीकृष्ण मुभिज् प्रा.लि. चाबहिललाई जान्छ ।
सुरुमा एकै ठाउँमा दुईवटा पर्दा राखेर फिल्म देखाउने चलन यहीँबाट सुरु भएको थियो । पछि यही हलमा राधा, मीरा, ॐ, नमः र शिवायः गरी थप ५ पर्दा थपिएका थिए ।
अहिले भने गोपीकृष्ण मुभिज् बन्द भइसकेको छ । २०८० फागुन १ गतेबाट पूर्ण रूपमा बन्द भएको थियो ।
आर्थिक संकटको कारण देखाउँदै हल बन्द गर्नु परेको गोपीकृष्ण मुभिज् निर्देशक निरक पौडेलले बताएका थिए । यो सिनेमा हलले कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण कम्पनीले घाटा व्यहोरेको थियो ।
नेपाली सिनेमाको बक्सअफिसमा ठूलो योगदान दिने यो मल्टिप्लेक्स पुनः आधुनिक सुविधासहित बन्ने भने पनि हालसम्म निर्माण भएको छैन ।
यो मल्टिप्लेक्स सुरु भएपछि विस्तारै अन्य ठाउँमा पनि मल्टिप्लेक्स खुल्न थाले । पछि प्रायः सबै हलले कम्तीमा दुईवटा पर्दा राखेर हल निर्माण गर्न थाले ।
अहिले देशभर यस्ता मल्टिप्लेक्सका थुप्रै चेन नै खडा भइसकेका छन् । अहिले देशको सबैभन्दा ठूलो चेन क्यूएफएक्स हो ।
हाल सञ्चालनमा रहेका हलको कुल संख्या १७२ पुगेको छ । ०८२ मा मात्र देशभर आठवटा नयाँ सिनेमा हल दर्ता भएका थिए ।




