‘लालीबजार’को ‘साहारा तिमी छौ’ भिडियो सार्वजनिक
काठमाडौं । वैशाख २५ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘लालीबजार’ले अहिले बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ ।
गत शनिबारसम्म ५ करोड ७६ लाख ब्यापार गरेको सिनेमाले यो हप्ता नेपाली बक्सअफिसमा ८ करोड नजिकको पुग्ने अनुमान निर्माण टिमको छ ।
यसैबीच, सिनेमाको निर्माण टिमले आमा र छोरीलाई ट्रिब्युट स्वरुप ‘साहारा तिमी छौं’ भिडियो सार्वजनिक गरेको छ ।
आमा र छोरीको संघर्षमा आधारित मर्मस्पर्शी गीतमा अभिनेत्री स्वस्तिमा खड्का, समाइरा थापा र प्रशंसा सुवेदी लगायतका कलाकारहरु फिचर्ड छन् ।
विशेषगरी यो गीतले सिनेमाको कथासार झल्काउँछ । जयन जे वाइवाको शब्द तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ ।
यो गीतमा दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङ बाल गायन र कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ । यसमा आमा र छोरी बीचको प्रेम देखाइएको छ । छोरीप्रति आमाको माया र हुर्काउन गर्ने संघर्षलाई चित्रण गरिएको छ ।
सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, प्रदीप ढकाल, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ ।
यम थापाको निर्देशनमा निर्माण भएको ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा प्रदीप भट्टराई अनि निर्मातामा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ रहेका छन् ।


