चलचित्रलाई कर छुटको नीतिको सुरुवात कहिले भएको थियो ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा थुप्रै रेकर्डहरू छन्, जुन हामी साप्ताहिक रूपमा उल्लेख गर्दै आएका छौं ।
आज हामीले प्रस्तुत गरेको सामग्रीलाई रेकर्ड पनि भन्न सकिन्छ भने यसलाई सुरुवात पनि भन्न सकिन्छ । हामी कुरा गर्दैछौँ, चलचित्रलाई कर छुटको नीतिको ।
सरकारले विसं २०४६ सालमा नेपाली चलचित्र निर्मातालाई यन्त्र, उपकरण, निर्माण सामग्री भाडामा दिँदा १० देखि ३० प्रतिशत छुट दिने नीति लिएको थियो । यो नेपालको इतिहासमा सरकारले सिनेमा उद्योगलाई दिएको पहिलो छुट थियो ।
सरकारले संस्थानसँग मिलेर चलचित्र बनाउने नेपालीलाई ३० प्रतिशत छुट दिन्थ्यो । सरकारले आफैं चलचित्र बनाउने नेपालीलाई २० र दक्षिण एसियाका देशलाई १० प्रतिशत छुट दिने नीति लिएको थियो । सकारको यो नीतिले तत्कालीन समयमा चलचित्रकर्मीहरूले ठूलो राहतको महसुस गरेका थिए ।
यो सँगै सरकारले स्टुडियो प्रयोग गरेवापत लिइने प्रत्येक रिलको शुल्क १३ सयबाट घटाएर एक हजार बनाएको थियो । यसले पनि निर्माताको ठूलो राहत पाएका थिए ।
विसं २०४६ मा नै सरकारले ६६ प्रतिशत अनुदान फिर्ता दिने निर्णय गरेको थियो । यो पनि आफैँमा क्रान्तिकारी निर्णय त छँदै थियो । यो निर्णय र नीतिले सरकारले सिनेमा उद्योगलाई प्राथमिकतामा राखेको महसुस गरेका थिए ।
तर, अहिले सिनेमालाई विश्वका ठूला देशले प्राथमिकता दिँदै जाँदा नेपाल सरकारले पनि यसको महत्व र प्रभाव शक्तिलाई नबुझेको चलचित्रकर्मीहरूले गुनासो गर्दै आएका छन् ।
यतिबेला संसद्मा चलचित्र विधेयक पुगेकाले सरकारले यसको महत्वलाई बुझेर चलचित्र क्षेत्रलाई बलियो र विकसित बनाउन त्यही अनुसारको कानुन बनाउनु पर्नेमा सम्बन्धित पक्ष र सरोकारवाला निकायले माग गरेका छन् ।


