‘हली’को प्रचार: गीत पुरानो, पोस्टर किन नयाँ ? स्टारहरूको बैसाखी कि मार्केटिङ फन्डा ?
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एउटा पुरानो उखान छ– ‘कन्टेन्ट बलियो नभए, अनुहार बिकाउनु ।’ यस्तै केही दृश्य देखिएको छ, निर्देशक ओम प्रतीकको नयाँ चलचित्र ‘हली’को पछिल्लो प्रचार शैलीमा ।
आगामी साउन २२ गतेलाई प्रदर्शन मिति तोकेको ‘हली’ टिमले शुक्रबार दुईवटा पोस्टर सार्वजनिक गर्यो । एउटा पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू छन्, जुन स्वभाविक हो । तर, दोस्रो पोस्टरले भने फिल्म वृत्तमा गज्जबको गसिप पैदा गरिदिएको छ ।
त्यो पोस्टरमा चलचित्रका मुख्य कलाकार होइन, बरु प्रमोसनल गीतमा कम्मर मर्काएका दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालाई तामझामका साथ प्रस्तुत गरिएको छ । अब प्रश्न उठ्छ– गत वर्ष नै सार्वजनिक भइसकेको गीतका कलाकारलाई अहिले आएर पोस्टरमा किन सजाउनुपर्यो ?
यो अचम्मको कुरा हो कि चलचित्रका मुख्य कलाकारहरू सरोज खनाल र प्रमोद दीप भन्दा पोस्टरमा ‘प्रमोसनल’ कलाकारहरूको उपस्थिति भब्य देखिन्छ । के ‘हली’ का मुख्य कलाकारहरू जो तुलनात्मक रूपमा कम चल्तीका छन् दर्शकलाई हलसम्म तान्न सक्षम छैनन् ? के दीपाश्री, प्रियंका र पूजाको अनुहार देखाएर हलमा भीड जम्मा गर्ने दाउमा निर्माण पक्ष लागेको हो ?
रोचक कुरा त के छ भने, जुन गीत ‘चान्स पाए त’ का लागि यी स्टारहरूलाई पोस्टरमा उतारिएको छ, त्यो गीत बजारमा आएको वर्ष दिन भइसक्यो । गीत पुरानो भइसक्दा पनि पोस्टरमा उनीहरूलाई नै ‘हाइलाइट’ गरिनुले निर्माण टिम कतै आफ्ना मुख्य पात्रहरूभन्दा यी ‘गेस्ट’ कलाकारहरूको लोकप्रियतामाथि बढी भर परेको त होइन भन्ने शंका उब्जाएको छ ।
‘चान्स पाए त’ गीत सार्वजनिक हुँदा चर्चा त पायो, तर यसले फिल्मलाई कति फाइदा पुर्याउँछ भन्ने अझै स्पष्ट छैन । गीतमा ठूला स्टार नाचेका कारण मात्रै चलचित्र चल्ने भए नेपालमा धेरै सिनेमा हिट हुन्थे । निर्माण टिमले पोस्टरमा कलाकारहरुप्रतिको प्रेम दर्शाए भन्दा पनि ‘बिजेनेस’ को बाध्यता बढी देखिन्छ ।
हुन त निर्देशक ओम प्रतीक चलचित्रको कथावस्तुमा आफू ढुक्क रहेको बताउँछन् । तर, प्रचारको यो शैलीले भन्छ- ‘भित्र जस्तो सुकै कथा भए पनि, बाहिर बिकाउन त चलेकै अनुहार चाहिन्छ ।’
यता, निर्देशक ओम प्रतीक आफैं मुख्य भूमिकामा देखिँदैछन् । अघिल्लो फिल्म ‘मोहर’ बाट व्यावसायिक सफलता पाएका प्रतीकले यसपटक आफ्नै काँधमा निर्देशन र अभिनयको भारी बोकेका छन् । आफ्नै लेखन र निर्देशनमा आफैं हिरो बन्ने उनको यो ‘कन्फिडेन्स’ ले हलमा कस्तो नतिजा ल्याउँछ, त्यो हेर्न निकै रोचक हुनेछ ।
अब ओम प्रतीकले यसपालि ‘हली’ मार्फत कस्तो हलो जोत्ने हुन्, त्यो त साउन २२ ले नै बताउला । तर, गेस्ट कलाकारलाई पोस्टरमा सजाएर गरिएको यो ‘मार्केटिङ फन्डा’ ले कत्तिको चान्स पाउला ? त्यो भने हेर्न बाँकी छ ।


