चलचित्र ‘हली’को मर्मस्पर्शी गीतमा अँध्यारो कोठाबाट छोरीको पुकार
काठमाडौं । चलचित्र ‘हली’को नयाँ गीत सार्वजनिक भएको छ । यही साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको निर्माण पक्षले ‘कहाँबाट ल्याऊँ बाबा’ बोलको मर्मस्पर्शी गीत रिलिज गरेको हो ।
ओम प्रतीकको निर्देशनमा बनेको चलचित्रको गीतमा असैह्य पीडामा रहेकी छोरीले बाबुलाई सम्झिँदै अन्धकारबाट निकालेर आफूलाई साथमा लैजान गरेको याचनालाई प्रस्तुत गरिएको छ ।
गायिका अस्मिता अधिकारीको स्वर रहेको यस गीतमा अभि सुनारको संगीत छ । गीतका शब्दहरू यसै चलचित्रका मुख्य अभिनेता प्रदीप दीपले रचना गरेका हुन् ।
यस गीतको भिडियोमा छोरीले आफ्नो बाबुलाई सम्झिँदै व्यक्त गरेको पीडालाई प्रस्तुत गरिएको छ, जसले दर्शकको मन छुने र चलचित्रप्रति कौतुहलता जगाउने निर्माण पक्षको विश्वास छ ।
सार्वजनिक भिडियोमा एउटा अध्यारो कोठामा थुनिएकी छोरीको असैह्य पीडा र छटपटीलाई देखाइएको छ । उनले आफ्नो बाबुलाई सम्झिँदै आफूलाई यो अन्धकार र कष्टबाट बाहिर निकालेर साथमा लैजान गरेको याचना देखाइएको छ ।
यस चलचित्रको प्रमोसनल गीत ‘चानस पाए त’ मा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मासम्मले अभिनय गरेका छन् । उक्त गीतको सफलताले पनि ‘हली’ प्रति दर्शकको आकर्षण बढाएको छ । यो गीतले पनि दर्शकलाई आकर्षण गर्न सक्छ भन्ने कुरा निर्माण पक्षको भनाई छ ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यो चलचित्र सामाजिक र क्रान्तिकारी कथामा आधारित छ । देशमा ठूलो परिवर्तन ल्याउनका लागि कुनै शक्तिशाली व्यक्तिको मात्र भर पर्नु पर्दैन, एउटा सचेत र जागरुक हली नै काफी हुन्छ भन्ने सशक्त सन्देश चलचित्रले दिन खोजेको निर्माण पक्षको भनाइ छ ।
नेपाली समाजमा अझै पनि जड गाडेर बसेको कुप्रथा अर्थात् छौपडी प्रथा विरुद्धको सामाजिक कथावस्तुलाई मुख्य रूपमा प्रस्तुत गरिएको चलचित्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ । निर्देशक प्रतीक स्वयंको पनि फिल्ममा मुख्य भूमिका रहेको छ ।
पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य हुन् ।
यस चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ । जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको प्रोमोस्नल गीत ‘चान्स पाए त’मा संगीतकार गिरी र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ ।
जीवननाथ गौतम मुख्य सहायक निर्देशक चलचित्रमा राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
यस चलचित्रको नेपालभरको वितरणको जिम्मा नेसनल सिने ग्रुप प्रालिले लिएको छ ।


