चलचित्र ‘हली’को टिजर: ढुङ्गा पुज्ने, छोरीलाई गोठमा थुन्ने ?
काठमाडौं । नेपाली समाजमा जकडिएर रहेको कुप्रथा ‘छाउपडी’ विरुद्धको कथावस्तु बोकेको चलचित्र ‘हली’को टिजर सार्वजनिक भएको छ ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको निर्माण भएको चलचित्रको शुक्रबार एक मिनेट २८ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो ।
आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको टिजरले सुदूरपश्चिम र कर्णाली क्षेत्रको छाउपडी प्रथालाई चित्रण गरेको छ ।
टिजरको सुरुवातमा एउटा गाउँ देखाइएको छ । जहाँ गाउँभित्र लुकेको परम्परा, महिनावारी भएकी एक सानी बालिकालाई घरभन्दा टाढा रहेको अँध्यारो र असुरक्षित ‘छाउगोठ’मा राखिएको दृश्य देखाइएको छ ।
ग्रामीण परिवेशमा आधारित भएर निर्माण भएको चलचित्रको टिजरमा देखाइए अनुसार ती बालिकाले आफ्नै बुबाको समेत मुख हेर्न नहुने अन्धविश्वासका कारण आफ्नो अनुहार छोपेर हिँड्नुपर्ने बाध्यता । महिनावारी भएकी छोरीलाई स्कुलले परीक्षा दिन समेत अस्वीकार गरेपछि बाबुले यो कुप्रथा विरुद्ध समाज र परम्परालाई नै चुनौती दिँदै अदालतमा मुद्दा हालेको दृश्यसँगै कानुनी र वैचारिक लडाइँ देखाइएको छ ।
टिजरमा समावेश एक संवादले समाजको दोहोरो चरित्रमाथि कडा व्यङ्ग्य गरेको छ । अदालतको दृश्यमा भनिएको छ,‘एउटा निर्जीव ढुङ्गालाई दुर्गा, लक्ष्मी र सरस्वतीको रूप दिएर मन्दिरमा सजाउने समाजले, साक्षात दुर्गा र सरस्वती जस्ता छोरीहरूलाई किन छाउगोठको कालकोठरीमा नरकीय जीवन बिताउन बाध्य पार्छ?’ यो प्रश्नले चलचित्रको कथावस्तुलाई प्रष्ट पारेको छ ।
जापुरा फिल्मस् र शुभ चिरायू फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा निर्देशक आफैं मुख्य भूमिकामा देखिएका छन् । उनीसँगै सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, अर्जुन गुरुङ, विद्या कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी रहेको चलचित्रको कार्यकारी निर्मातामा अर्जुन भुसाल रहेका छन् ।
चलचित्रप्रति दर्शकको चासो बढाउन निर्माण पक्षले केही समयअघि एउटा प्रमोशनल गीत सार्वजनिक गरेको थियो । जसमा दीपाश्री निरौला, दिलीप रायमाझी, प्रियंका कार्की, पूजा शर्मा र किरण केसीले कम्मर मर्काएका छन् ।
यो चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत छ । राहुल राईको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको यस सिनेमालाई नेशनल सिने ग्रुपले वितरण गर्दैछ ।
वास्तविक जीवनका घटनाहरूबाट प्रेरित भनिएको ‘हली’ले समाजमा जकडिएको अन्धविश्वासलाई चिर्ने अपेक्षा निर्माण टिमले गरेको छ ।
