चलचित्र ‘आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक
काठमाडौं । अभिनेता जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरले गाउँबाट सपना बोकेर शहर आएको युवाले कलाकार बन्नका लागि भोग्नुपरेका संघर्ष, चुनौती र यात्रालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । ट्रेलरमा अभिनेता जितु नेपालको फरक अवतार देख्न सकिन्छ, जहाँ उनले कलाकार बन्ने सपना पछ्याइरहेका युवाको भूमिका निभाएका छन् ।
भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा बनेको यस चलचित्रमा जितु नेपालको अपोजिटमा अभिनेत्री वर्षा राउत देखिएकी छन् ।
चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा, निरज नेपाल,अन्सु महर्जन लगायत कलाकारहरूको अभिनय रहेको छ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन् । भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको फिल्मको पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
‘आइ एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।


