जितु एक्लैले चलचित्र चलाउन सक्दैनन् ?
काठमाडौं । जितु नेपाल नेपाली रंगीन दुनियामा परिचित पात्र हुन् । जितु कमेडी हुँदै चलचित्र उद्योगमा प्रवेश गरेका कलाकार हुन् ।
उनका थुप्रै चलचित्र सफल पनि छन् । ‘छक्का पञ्जा’ सिरिज हुन् वा त्यहाँभन्दा अगाडि दीपकराज गिरीसँग सँगै काम गरेका चलचित्र । यी चलचित्र सफल छन् । तर, यी मात्रै पनि होइन । चलचित्र ‘छ माया छपक्कै’ पनि बक्सअफिसमा सफल चलचित्र हो ।
यी चलचित्रमा जितु मुख्य भूमिकामा थिएनन् । दीपकराज गिरीलगायत कलाकार मुख्य भूमिकामा थिए । त्यसैले यी चलचित्र जितु कै कारण बक्स अफिसमा हिट भए भनेर भन्दा सायद दीपकलाई अन्याय हुन्छ ।
तर, समयक्रमसँगै जितु दीपकराज गिरी र दीपाश्री निरौलाको टिमबाट अलग भए । तर, यो टिमबाट अलग भएपछि जितुलाई फाइदा नै भयो । किनकी जब उनले यो टिम छोडे त्यसपछि उनी हिरो भए । सिंगो सिनेमाको हिरो भए । चलचित्रको कथा नै उनको काँधमा आइपुग्यो । सिंगो चलचित्र बोकेर जितु हिँड्न थाले ।
हिरो त जितु भए, तर सोचेजस्तो सफलता पाउन सकेनन् । चलचित्रको कथा कमजोर भयो वा निर्देशन फितलो भयो अथवा प्रचार राम्रो भएन वा अभिनय नै दर्शकले मन पराएनन् या रिलिज डेट उचित भएन । चलचित्र बक्स अफिसमा सफल भएनन् । त्यसो त बक्सअफिसमा सफल हुँदैमा सबै सिनेमा सफल वा राम्रा, कम व्यापार गर्दैमा असफल वा नराम्रा भन्ने होइन ।
तर, एउटा सत्य चाहिँ के हो भने बक्सअफिस पनि सफल चलचित्रको एउटा मानक हो । तर, यसमा जितु असफल भए । उनको चलचित्र ‘ह्यारी कि प्यारी’ जो उनको पहिलो सोलो लिड थियो, यो बक्सअफिसमा असफल भयो ।
त्यसपछिको जितुको सोलो लिड सिनेमा ‘ज्वाइँ साब’ पनि बक्सअफिसम असफल नै भयो । त्ससपछि दयाहाङ मुख्य भूमिकामा रहेको र दोस्रो लिडमा जितु रहेको चलचित्र ‘कार्साङ’ पनि ब्यापारिक रुपमा सफल भएन ।
अब फेरि जितु नै हिरो भएको सिनेमा ‘आई एम जित बहादुर’ निर्माण भइरहेको छ । बंगाली निर्देशक सुभेन्दु घोषले निर्देशन गरेको ‘आई एम जित बहादुर’ कस्तो हुनेछ त्यो भने हेर्न बाँकी छ । यो सिनेमा असार ५ गतेबाट रिलिज हुनेछ ।
यदि, ‘आई एम जित बहादुर’ पनि सिनेमा हलमा व्यापारिक रुपमा सफल भएन भने जितुलाई सिनेमाको मुख्य भूमिकामा निर्माताले लिन हिचकिचाउने अवस्था आउन सक्छ । किनकी उनी एक्लैले लिड गरेका चलचित्र बजारमा लगातार असफल भए पनि पक्कै जितुलाई मुख्य भूमिकामा लिनलाई स्वभाविक रूपमा निर्मातामा कन्फिडेन्स लुज हुनेछ ।
त्यसैले ‘आई एम जित बहादुर’ जितुका लागि एक सामान्य चलचित्र नभएर उनको सिने करियरका लागि ‘गर या मर’ बन्ने छ । उनलाई हिरो कै रुपमा उभ्याइरहने अथवा साइड क्यारेक्टरमा थन्क्याउने यो चलचित्रले निर्धारण गर्नेछ ।


