रहिनन् ‘आजकल तेरे मेरे प्यार के चर्चे’ गायिका सुमन कल्याणपुर
मुम्बई । भारतीय चलचित्र सङ्गीतको सुनौलो युगकी प्रतिष्ठित पार्श्व गायिका सुमन कल्याणपुरको ८९ वर्षको उमेरमा निधन भएको छ । ६० र ७० को दशकमा आफ्नो सुमधुर स्वरले करोडौँ श्रोताको मन जितेकी कल्याणपुरको आइतबार साँझ मुम्बईको लोखण्डवालास्थित आफ्नै निवासमा निधन भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनी लामो समयदेखि वृद्धावस्थाका कारण विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिइन् । आइतबार साँझ करिब ८ बजे उनले अन्तिम सास फेरेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै ‘बलिउड हंगामा’ले जनाएको छ ।
सन् १९३७ मा ढाका (हालको बंगलादेश) मा जन्मिएकी सुमनले सन् १९५४ मा ‘दरवाजा’ चलचित्रबाट गायन यात्रा सुरु गरेकी थिइन् । उनले यस्तो समयमा सङ्गीत क्षेत्रमा आफ्नो पहिचान बनाइन्, जतिबेला भारतीय सङ्गीतमा लता मङ्गेशकर र आशा भोस्ले जस्ता दिग्गज गायिकाहरूको वर्चस्व थियो । धेरैले उनको स्वरलाई लता मङ्गेशकरसँग तुलना गर्ने गरे तापनि उनले आफ्नो विशिष्ट र भावपूर्ण गायकीका कारण आफ्नै छुट्टै पहिचान स्थापित गर्न सफल भइन् ।
विशेष गरी मोहम्मद रफीसँग उनले गाएका युगल गीतहरू आज पनि उत्तिकै रुचाइन्छन् । जब रफी र लताबीच रोयल्टीको विषयमा विवाद भएर केही समय सँगै नगाउने निर्णय भएको थियो, तब सुमन कल्याणपुरले नै रफीसँग मिलेर थुप्रै हिट गीतहरू दिएकी थिइन् ।
दशकौँ लामो साङ्गीतिक करियरमा उनले सयौँ लोकप्रिय गीतहरू गाएकी छन् । उनका केही अविस्मरणीय गीतहरूमा ‘ना ना करते प्यार तुम्हीं से’, ‘आजकल तेरे मेरे प्यार के चर्चे’, ‘तुमने पुकारा और हम चले आए’, ‘यूँही तुम मुझसे बात करती हो’ कालजयी मानिन्छन् ।
हिन्दी चलचित्र क्षेत्रमा मात्र सीमित नभई कल्याणपुरले मराठी, बङ्गाली, कन्नड, पन्जाबी र गुजराती लगायतका धेरै क्षेत्रीय भाषाहरूमा समेत आफ्नो आवाज दिएकी थिइन् । पार्श्व गायनका अतिरिक्त उनले गाएका भजन, गजल र ठुमरीहरू आज पनि उत्तिकै रुचाइन्छन् ।
सङ्गीतमा पुर्याएको योगदानका लागि उनलाई भारत सरकारले सन् २०२३ मा ‘पद्मभूषण’ बाट सम्मानित गरेको थियो । यसबाहेक उनले महाराष्ट्र भूषण र थुप्रै प्रतिष्ठित अवार्डहरू प्राप्त गरेकी थिइन् ।
सुमन कल्याणपुरको विवाह सन् १९५८ मा व्यवसायी रामानन्द कल्याणपुरसँग भएको थियो । उनकी एक छोरी छिन् ।
पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि राखिनेछ र सोमबार मुम्बईको विले पार्लेस्थित पवन हन्स शवदाह गृहमा अन्त्येष्टि गरिनेछ ।


