७५ वर्षको उमेरमा अभिनेता नाना पाटेकरको निधन
काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको निधन भएको छ । ७५ वर्षको उमेरमा बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयघातका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रिपोर्टअनुसार गोवाको डोना पाउलास्थित घरमा उनी अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि उनलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो । चिकित्सकहरूले उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरेका थिए । तर, उपचारको प्रयास सफल हुन सकेन । मणिपाल अस्पतालका डा. शेखर सालकरका अनुसार बिहान ५ः२० बजे उनलाई मृत घोषणा गरिएको थियो ।
उनको निधनसम्बन्धी घटनालाई मेडिको–लिगल केस (एमएलसी)का रूपमा दर्ता गरिएको छ । मृत्युको कारण र घटनाको परिस्थितिबारे थप स्पष्टताका लागि पोस्टमार्टम गरिने बताइएको छ ।
नाना पाटेकर भारतीय चलचित्रमा आफ्नो फरक अभिनय शैली, दमदार संवाद अदायगी र विविध भूमिकाका लागि परिचित थिए । हिन्दी तथा मराठी दुवै भाषाका चलचित्रमा काम गरेका उनले करिब पाँच दशक लामो अभिनय यात्रामा थुप्रै यादगार पात्रलाई पर्दामा उतारे ।
सन् १९७८ मा ‘गमन’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका पाटेकरले ‘सलाम बम्बे!’, ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशीः द म्युजिकल’, ‘तिरंगा’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।
सन् १९८९ मा प्रदर्शनमा आएको ‘परिन्दा’मा अन्नाको भूमिका निर्वाह गरेपछि उनको अभिनयले विशेष चर्चा पाएको थियो । उक्त भूमिकाका लागि उनले सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए । त्यसपछि सन् १९९४ को ‘क्रान्तिवीर’का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जिते । सन् १९९६ मा ‘अग्निसाक्षी’का लागि पुनः सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरे । यससँगै उनी तीन पटक राष्ट्रिय चलचित्र पुरस्कार जित्ने अभिनेताका रूपमा स्थापित भए ।
अभिनयसँगै पाटेकरले निर्देशनमा समेत हात हालेका थिए । सन् १९९१ मा उनले ‘प्रहारः द फाइनल अट्याक’ निर्देशन गरेका थिए । गम्भीर तथा सामाजिक विषयका चलचित्रदेखि कमेडी भूमिकासम्म आफूलाई सहज रूपमा प्रस्तुत गर्न सक्ने कलाकारका रूपमा उनको छुट्टै पहिचान थियो । ‘वेलकम’मा उदय शेट्टीको भूमिकाले उनलाई फरक पुस्ताका दर्शकमाझ पनि लोकप्रिय बनाएको थियो ।
भारतीय चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भारत सरकारले उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरेको थियो । राष्ट्रिय चलचित्र पुरस्कारबाहेक उनले फिल्मफेयरसहित विभिन्न प्रतिष्ठित पुरस्कारसमेत प्राप्त गरेका थिए ।
पाटेकर पछिल्लो समय पनि अभिनयमा सक्रिय थिए । उनको निधनसँगै हिन्दी तथा मराठी चलचित्र क्षेत्रमा एक प्रभावशाली कलाकारको यात्रा अन्त्य भएको छ । उनको निधनले भारतीय चलचित्र उद्योग र उनका प्रशंसकमा शोक छाएको छ ।





