नेपालका बाढीपीडितका लागि बलिउड अभिनेत्री पेडनेकरको विश्व समुदायसमक्ष अपिल

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको संकट अझै सामान्य अवस्थामा फर्किन सकेको छैन । बाढी गएको ११ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिकको अवस्था दयनीय रहेको भन्दै बलिउड अभिनेत्री भूमि पेडनेकरले सहयोगका लागि विश्व समुदायसमक्ष अपिल गरेकी छन् ।

अभिनेत्री पेडनेकरले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै नेपाललाई अहिले सहयोगको आवश्यकता रहेको भन्दै सबैलाई सक्दो सहयोग गर्न आग्रह गरेकी हुन् ।

भिडियो सन्देशमार्फत उनले नेपाल अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेको बताउँदै प्रभावित नागरिकलाई तत्काल ग्यास, बत्ती, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आवश्यकता रहेको उल्लेख गरेकी छन् ।

बाढी र त्यसपछि सिर्जित विपत्तिका कारण ठूलो मानवीय क्षति भएको, धेरै नागरिकले ज्यान गुमाएका तथा अझै ठूलो सङ्ख्यामा मानिसहरू हराइरहेको भन्दै उनले नेपालका प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेकी छन् ।

भूमिले यस्तो संकटको घडीमा नेपाल एक्लो नरहेको महसुस गराउन विश्वभर रहेका नागरिकलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेकी छन् । सहयोग गर्न इच्छुक व्यक्तिका लागि उनले सम्पर्क गर्ने माध्यमसहितको लिङ्क पनि भिडियोमा राखेकी छन् ।

नेपालको विपत्तिमा आफ्नो तर्फबाट समेत विशेष सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भूमिले नेपाली नागरिकलाई आवश्यक परेको बेला साथ दिन विश्व समुदायलाई आग्रह गरेकी हुन् ।

नेपालको विपत्तिमा सहयोगको अपिल गर्ने उनी पहिलो बलिउड कलाकार भने होइनन् । यसअघि पनि बलिउडका थुप्रै कलाकारले सामाजिक सञ्जालमार्फत नेपाली बाढीपीडितको अवस्थाप्रति चासो व्यक्त गर्दै सहयोगका लागि आह्वान गरिसकेका छन् ।

बलिउड अभिनेता सोनु सूद केही दिनअघि बाढी प्रभावितको अवस्था बुझ्न नुवाकोटसमेत पुगेका थिए । प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिएपछि उनले यस्तो विपत्तिको समयमा नेपाल एक्लो नरहेको बताउँदै आफू नेपाली जनताको साथमा रहेको धारणा सार्वजनिक गरेका थिए ।