फेरि खाली हुँदै सिनेमा हल, छैनन् सिनेमा, के हो कारण ?

काठमाडौं । नेपाली चलचित्र उद्योग आफैँमा अचम्मको छ । उद्योग अचम्मको छ भन्नुको तात्पर्य यहाँका चलचित्रकर्मी अचम्मका छन्, भन्नु नै हो । प्रसंग हो, सिनेमा रिलिजको ।

बेलाबेलामा यहाँ दिनकै तीनचारवटा चलचित्र रिलिज हुन्छन् । कुनै समय भने महिनौँसम्म एउटा पनि चलचित्र रिलिज हुँदैनन् । सिनेमा हल नै खाली हुन्छन् ।

पछिल्लो समय ‘लालीबजार’ रिलिज हुँदा एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका थिए । ‘मालतीको मंगले’, ‘लालीबजार’ र ‘गुरुआमा’ एकै दिन प्रदर्शनमा आएका थिए । यसमा ‘लालीबजार’ मात्रै सफल भयो ।

गएको शुक्रबार मात्रै पनि तीनवटा सिनेमा एकै दिन प्रदर्शनमा आए । ‘रोल नं १’, ‘कुम्भ’ र ‘सेप अफ मोमो’ एकै दिन प्रदर्शनमा आएका थिए । ‘रोल नं १’ले केही आशा देखाइरहँदा अरु दुई सिनेमाल लगबग हलमा टिक्न मात्रै संघर्ष गरिरहेका छन् ।

यसयअघि र पछि पनि एकै दिन कम्तीमा २÷२ वटाका दरले चलचित्र रिलिज भए । सोलो रिलिज त कमै सिनेमाले मात्रै मौका पाएका छन् । पछिल्लो समय नेपाली सिनेमाको सोलो रिलिजको मौका त ‘भाग्यमानी’ निर्माताले मात्रै पाउँछ भने पनि हुन्छ ।

जेठ ८ लाई नै होरौँ, एकै दिन स्टारहरूका सिनेमा प्रदर्शनमा आए, ‘मितज्यू’ र ‘काजी’ ।

तर, अब भने लामो समय नेपाली चलचित्र रिलिजको पाइफलाइनमा छैनन् । अब एकैपटक असार ५ गते ‘आई एम जीतबहादुर’ रिलिज हुनेछ । त्यसपछि पनि लामो समय चलचित्र प्रदर्शनमा आउने छैनन् । यो पनि स्ड्याब्लिस ब्यानरको सिनेमा होइन । अथवा यो सिनेमाको डरले तत्कालै यसको अघि र पछि अरु सिनेमा प्रदर्शनमा नआउने भएका होइनन् ।

प्रायः नेपाली चलचित्र उद्योगमा वर्षा याममा चलचित्र रिलिज हुँदैनन् । झरी पर्ने डरले निर्माताले सिनेमा रिलिज गर्दैनन् । तर, अहिले अचम्मको कुरा के छ भने मनसुन सुरु नै भएको छैन । र अझै कम्तीमा दुई हप्ता मनसुन सुरु हुने छैन ।

कहिले खातमाथि खात चलचित्र रिलिज हुने अनि कहिले भने हलमा नेपाली चलचित्र नै नरहने अवस्था आउँछ । मनसुन मात्रै होइन, जाडोमा पनि नेपाली चलचित्र उद्योगमा चलचित्र रिलिज हुँदैनन् । जाडो हुने भएकाले दर्शक हल जाँदैनन् भन्ने निर्माताको मनोविज्ञानले काम गरिरहेको छ ।

तर, गत वर्षदेखि भने यो मनोविज्ञान केही कमजोर हुँदै गएको देखिन्छ । किनकी जाडोमा पनि चलचित्र रिलिज हुन थालेका छन् ।

कहिले महिना दिन नै हल खाली हुने कहिले भने एकै दिन तीन÷चारवटा सिनेमा रिलिज हुँदा त्यसको असर व्यापारमा पर्ने गरेको छ । सोलो रिलिज हुँदा सम्भावना बोकेको चलचित्रले जति धेरै व्यापार गर्ने सम्भावना हुन्छ, त्यति तीन÷चारवटा चलचित्र एकै दिन आउँदा निश्चय नै हुँदैन ।

त्यसैले एक दिन बिदाको लोभमा तीनवटा चलचित्रसँग चेपिएर आउनुभन्दा खुला समयमा एक्लै आउनु निसन्देह धेरै राम्रो हो । त्यसैले एकै दिन भिडमभीड गरेर प्रदर्शनमा आउनुभन्दा अरु निर्माता नआएको मौका पारेर आउनु निर्माताका लागि उपयुक्त हो ।

त्यसैले सहकर्मीहरूसँग जोरी खोज्दै र शत्रुता मोल्दै ठूलो रिस्कमा अरुसँग आउनुभन्दा लगानी रिटर्न्सका लागि कम जोखिम मोलेर अरुलाई पनि खुकुलो बनाउँदै एक्लै प्रदर्शनको मिति खोज्नु उपयुक्त हुनेछ ।