फ्राइडे रिलिजमा ‘झिँगे दाउ २’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो !’ हलमा

काठमाडौं । फ्राइडे रिलिजमा आज एकै दिन तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘झिँगे दाउ २’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो !’ आजबाट प्रदर्शन भएका हुन् ।

‘झिँगे दाउ २’मा पारिवारिक कथासँगै सम्बन्ध, भावना र सामाजिक परिवेशलाई प्रस्तुत गरिएको निर्माण पक्षले बताएको छ ।

चलचित्रमा केकी अधिकारी र आँचल शर्मासँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायतका कलाकारको अभिनय छ ।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रुपमा छन् ।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् । अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ ।

राजेन्द्र बस्नेत निर्देशित चलचित्र ‘कार्की साइँला’ भारी बोक्ने भरियाको जीवन, विवाह, सन्तानको खुसी, गाउँलेको हेपाइ र दोस्रो विवाहको कथावरिपरि घुमेको छ । चलचित्रमा जितु नेपाल मुख्य भरियाको भूमिकामा देखिएका छन् ।

जितु नेपाल र प्रियना आचार्यको मुख्य अभिनय रहेको छ । सुशील पोखरेल, बीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ ।

बालकुमार राईको लगानी र कृष्ण भगत चाम्लिङको प्रस्तुतिमा बनेको यस फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन् ।

‘माया बस्छ कि के हो !’ भने बिनाप्रचारप्रसार हलमा आएको छ । यसले क्यूएफएक्सलगायत ठूला मल्टिप्लेक्समा शो पाएको छैन । यसलाई जम्मा तीनवटा हलले शो दिएका छन् । खल्ती एपमा हेर्दा देशभरबाट जम्मा ३ वटा शो मात्र पाएको देखिन्छ ।

प्रेमकथामा आधारित ‘माया बस्छ कि के हो !’मा सोनाल लामा र कस्मता निरौला प्रमुख भूमिकामा छन् ।

राजु अधिकारी निर्देशित चलचित्र युरोपेली मुलुकका रमणीय स्थानमा छायांकन गरिएको छ ।

अध्ययन तथा रोजगारीका लागि विदेशिएका युवायुवतीको प्रेम सम्बन्ध, समर्पण र मतभेदको कथा यो चलचित्रमा समावेश छ ।

आरती अधिकारीको कथा र मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रमा गीतमा अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन छ ।