दोहोरो भूमिका निर्वाह गर्ने पहिलो नायिका को हो ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा पुरुष मात्रै होइन, महिला कलाकार र प्राविधिकका नाममा पनि थुप्रै रेकर्डहरू छन् । त्यस्तै मध्य एउटा रेकर्ड तृप्ती नाटकरका नाममा पनि छ ।
उनका नाममा यस्तो रेकर्ड छ, जुन अहिले पनि नायिकाहरूले कमै मात्रै यो अवसर पाउने गरेका छन् ।
तृप्ती दोहोरो भूमिका निर्वाह गर्ने पहिलो नेपाली नायिका हुन् । तृप्ती नाटकरले एउटै चलचित्रमा दुई अलग–अलग पात्रमा काम गरेकी थिइन् । यो उनको डेब्यु सिनेमा थियो ।
उनले ‘सम्झना’ चलचित्रमा दुई अलग–अलग पात्र आमा र छोरीको भूमिकामा काम गरेकी थिइन् । ‘सम्झना’ चलचित्र विस. २०४२ चैतमा प्रर्दशन भएको थियो ।
शम्भु प्रधानको निर्देशनमा निर्माण भएको यो चलचित्रका मुख्य कलाकारमा तृप्तीसँगै भुवन केसी, मुरलिधर, फुर्वा लामा, प्रदीप पाख्रीन, निर्मला क्षेत्री, शान्ती प्रधानलगायत थिए । यो चलचित्रमा भुवन केसी र तृप्तीले जोडी बाँधेका थिए । यो सिनेमा सफल भएपछि उनीहरुले यसपछि धेरै सिनेमामा सँगै काम गरेका थिए ।
यो चलचित्रलाई बिनोद प्रधानले खिचेका थिए । ‘दुई पाते सुइरो’, ‘उकालीमा अघि अघि ओरालीमा पछिपछि’, ‘पिरती आफैँ हुँदो रैछ’, ‘गहिरो गहिरो सागर जस्तै’, ‘के सोचे मैले के भयो अहिले’ यो चलचित्रका गीत हुन् ।
यो चलचित्रले प्रेम, परिवार र बिदाईलाई समेटेको थियो । यो चलचित्रले रोमान्टिक मेलोड्रामा शैलीलाई स्थापित गरेको श्रेय पाउने गरेको छ ।


