हिरोहरूलाई धेरै पछि छाड्दै अघि बढिसकिन् स्वस्तिमा, कसको काँध बलियो ?

काठमाडौं । सफल सिनेमाका मानक थुप्रै होलान् । कथा, अभिनय, प्राविधिक पक्षलगायत थुप्रै विषयले सफल सिनेमाको मापन गर्ला । यी सँगै सायद छुट्दैन होला बक्सअफिसमा हुने व्यापार पनि । अझ निर्माताका लागि त सबैभन्दा महत्वपूर्ण फ्याक्टर नै यही हो ।

बक्सअफिस तथ्यांकलाई केलाउने हो भने पछल्लो वर्ष को अघि र को पछि छ भन्ने प्रश्न स्वभाविक रुपमा आउँछ । यो प्रश्नको जवाफ खोज्दै जाने हो भने सरप्राइजिङ उत्तर आउँछ ।

किनकी यसको जवाफमा गिनेचुनेका नायकको नाम आउँदैन । नेपाली सिंगो सिनेमा उद्योगलाई नै डो¥याइरहेका भनेर भनेर प्रचार गरिएका हिरोहरुको नाम आउँदैन । नेपाली सिनेमाको कथाको भारी नायिकाले बोक्न सक्दैनन् भनेर भनिरहेका बेला आउँछ, नायिकाकै नाम । यो वर्षको सुरुदेखि हालसम्मका चलचित्रको बक्सअफिसलाई हेर्ने हो भने ‘लालीबजार’को नाम आउँछ ।

‘लालीबजार’लाई बोकेकी छन्, नायिका स्वस्तिमा खड्काले । अरु पात्र यो सिनेमाका सहायक चरित्र हुन् । यो चलचित्रको नायक भने पनि नायिका भने पनि स्वस्तिमा नै हुन् । उनकै क्यारेक्टरको वरिपरि यो चलचित्र फनफनी घुम्छ । यही चलचित्र यो वर्ष हालसम्म बक्सअफिसमा सबैधन्दा अगाडि देखिन्छ ।

दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, विजय बरालका चलचित्रले बक्सअफिसमा निकै कमजोर पफर्मेन्स गरिरहँदा स्वस्तिमाको सिनेमाले निकै ठूलो फड्को मारिरहेको छ ।

विपिन कार्कीको चलचित्र ‘काजी’ले ४० लाख, विजय बरालको चलचित्र ‘मालती मंगले’ले ५१ लाख, सौगात मल्ल र दयाहाङ राईको चलचित्र ‘मितज्यू’ले १ करोड २० लाख रुपैयाँ कलेक्सन गरिरहेका बेला स्वस्तिमाको चलचित्र ‘लालीबजार’ले भने यी सिनेमालाई धेरै पछाडि छोडेर ७ करोड ९० लाख रुपैयाँ कलेक्सन गरिरहेको छ ।

यसले के पुष्टि गरेको छ भने, नायिकाले लिड गरेका सिनेमालाई दर्शकले पत्याउँदैनन् भन्ने भ्रम मात्रै हो यथार्थ होइन । त्यसो त सबै नायिकाले लिड गरेका सिनेमा चल्छन् नै भन्ने छैन । ‘लाइफ ड्यामेज’, ‘एक मुठ्ठी बादल’ र ‘गुरुआमा’ नै पछिल्ला उदाहरण हुन् ।

कसले लिड ग¥यो र गरेनभन्दा पनि दर्शक सिनेमामा होल्ड हुन्छन् कि हुँदैनन् भन्ने कुरा प्रधान हो । पछिल्ला सिनेमाले पनि यसैलाई पुष्टि गरेका छन् ।

दोस्रो धेरै कलेक्सन गर्ने चलचित्रभन्दा करिब आठ गुणाले धेरै ‘लालीबजार’ले कलेक्सन गरेको छ । यसबाट दर्शकले होइन निर्माता÷निर्देशकले चाहिँ नायिकालाई विश्वास नगरेको प्रस्ट पुष्टि भएको छ ।

सिनेमा बोक्ने काँध पुरुषको कि महिलाको भन्दा पनि काँधमा बोकाउने सिनेमा चाहिँ कस्तो छ भन्ने कुरा यी पछिल्ला उदाहरणले पुष्टि गरेको छ ।