फिल्म खिचेर टिकटक र फेसबुकमा हालेर रमाउँदै दर्शक, तनावमा निर्माता
काठमाडौं । पछिल्लो समय निर्माताहरुले पटकपटक गुनासो गर्दै आएका छन्, सिनेमाको पाइरेसी रोकिनु पर्यो, रोक्नु पर्यो । तर, न पाइरेसी रोकिएको छ, न निर्माताको गुनासो ।
सिनेमाका लामालामा फुटेज नै सामाजिक सञ्जालमा अपलोड हुन थालेपछि निर्माता त्यसको मारमा परेका छन् । चलचित्र रिलिज भएको दिन वा त्यसको भोलिपल्ट नै सिनेमाका लामालामा फुटेज टिकटक र फेसबुकमा अपलोड हुन थालेपछि यसले व्यापारमा असर गरिरहेको निर्माताहरूको निष्कर्ष छ ।
आइतबार मात्रै चलचि “आचार्य”का निर्माता समेत रहेका निर्देशक तथा अभिनेता निखिल उप्रेतीले पाइरेसीले निर्माता हैरान भएको भन्दै यो तत्काल रोकिनु पर्नेमा जोड दिए । चलचित्र बनाउन सहज नरहेको तर अफ्ठ्यारो परिस्थितिमा बनाइएइका चलचित्र पाइरेसी गर्दा निर्मातालाई समस्या भइरहेको बताए ।
“चलचित्र रिलिज भएकै दिन टिकटक, फेसबुक र सामाजिक प्लेटफर्ममा १०, १५, २० मिनेटका फुटेज अपलोड हुन्छन्,” निखिलले भने, “भ्युज र मनोरञ्जनका लागि पाइरेसी गर्दा निर्माताको हातत के हुन्छ होला ? त्यसैले यो पाइरेसी हामी सबै मिलेर रोक्नुपर्छ ।”
विदेशी सिनेमाको प्रभाव कम गर्नुपर्ने चुनौती रहेकाबेला यसरी सिनेमा पाइरेसी हुँदा निर्माताहरू झनै समस्यामा परिरहेको उनको भनाइ छ ।
भदौ २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बेहुली’ले पनि पाइरेसीको मार खेपेको थियो । क्लाइमेक्स सहितको अन्तिमको १५ मिनेट सिनेमा रिलिज भएको भोलिपल्ट नै टिकटकमा छ्यापछ्याप्ती भएको थियो ।
उक्त फुटेजमा कसैले सिनेमा नखिच्न आग्रह गरिरहेको हुन्छ । तर, जसले खिचेको हो उसले बोलेको सुनिन्छ, “यो खिचेर फेसबुकमा हाल्नुपर्छ, भ्युज टन्नै आउँछ, भाइरल हुन्छ ।”
यसरी कसैको बौद्धिक सम्पति चोरी वा पाइरेसी गर्नु भनेको अपराध हो । कानुन विपरीतको कार्य हो । तर, पनि सामाजिक सञ्जालमा भाइरल हुने र भ्युज आउने अर्थात् केही पैसा आउने लोभमा दर्शकले हलमा सिनेमा खिचेर सामाजिक सञ्जालमा अपलोड गरिरहेका छन् ।
आजकाल कुनै त्यस्तो निर्माता छैन, जसले आफ्नो सिनेमा हलबाट पाइरेसी भएको गुनासो नगरुन् । कति त उजुरी लिएर प्रहरीकोमा नै पुग्ने गरेका छन् । तर, पनि पाइरेसीको क्रम घटेको छैन, झन बढिरहेको छ ।
नेपालमा बलियो ओटीटी नरहेको अवस्थामा सिनेमाको लगानी उठाउने मुख्य माध्यम हल नै हो । हलमा रिलिज भएकै दिन १५/२० मिनेटका फुटेज बाहिरिन थालेपछि निर्माता हैरान हुन थालेका छन् ।



