‘पेड्डी’मा जान्हवी कपूरको भूमिकाले निम्त्यायो विवाद, के हो कारण ?

काठमाडौं । तेलुगु फिल्म ‘पेड्डी’ले प्रदर्शनको सुरुवाती दुई दिनमै बक्स अफिसमा राम्रो सुरुवात गरेसँगै आलोचनामा परेको छ ।

दक्षिण भारतीय सुपरस्टार राम चरण र अभिनेत्री जाह्नवी कपूर अभिनित यो फिल्मले विश्वव्यापी रूपमा १५० करोड र भारतमा ११४ करोड रुपैयाँको व्यापार गरेको छ । तर, व्यापारिक सफलताको खुसीयाली मनाइरहँदा फिल्म आलोचनाले घेरिएको छ ।

फिल्ममा अभिनेत्री जाह्नवी कपूरले निर्वाह गरेको ‘अचियम्मा’ नामक पात्रको चित्रणलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि निर्माण पक्ष दबाबमा परेको हो ।

फिल्ममा जाह्नवीको पात्र ‘अचियम्मा’लाई प्रस्तुत गरिएको शैलीप्रति दर्शकहरूले असन्तुष्टि जनाएका छन् । विशेषगरी, फिल्मको कथाको मागभन्दा बाहिर गएर उक्त पात्रलाई अनावश्यक रूपमा ‘ग्लामराइज’ गरिएको र कतिपय दृश्यमा अस्वभाविक रूपमा प्रस्तुत गरिएको आरोप लागेको छ ।

सामाजिक सञ्जालमा धेरैले यसलाई ‘मेल गेज’ (पुरुषवादी दृष्टिकोण) को उपज भन्दै महिला पात्रलाई केवल दर्शक तान्ने वस्तुको रूपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आलोचना चर्किएपछि फिल्मका निर्देशक बुच्ची बाबू सनाले सार्वजनिक रूपमा माफी मागेका छन् । उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत एक विज्ञप्ति जारी गर्दै दर्शकको भावनामा चोट पुर्‍याउने आफ्नो कुनै नियत नरहेको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, “एक फिल्मकर्मीका रूपमा म यो विश्वास गर्छु कि फिल्मले दर्शकलाई मनोरञ्जन दिनुपर्छ र उनीहरूसँग आत्मीय सम्बन्ध स्थापित गर्नुपर्छ । कसैलाई असहज बनाउनु वा अपमानित गर्नु हाम्रो उद्देश्य कहिल्यै थिएन । ‘पेड्डी’का केही दृश्यलाई लिएर आएका प्रतिक्रियालाई हामीले गम्भीरताका साथ लिएका छौँ ।”

निर्देशक सनाले दर्शकको प्रतिक्रियाको कदर गर्दै विवादित दृश्यहरू फिल्मबाट हटाउने वा परिमार्जन गर्ने निर्णय भएको समेत जानकारी दिएका छन् ।

उनले अगाडि भनेका छन्, “समयसँगै बदलिँदो सोच र संवेदनशीलतालाई सम्मान गर्नु एक कथाकारको जिम्मेवारी हो । त्यसैले हामीले ती दृश्यहरू परिवर्तन गर्ने निर्णय गरेका छौँ ।”

फिल्मको यो विवादलाई लिएर सामाजिक सञ्जाल र फिल्म वृत्तमा विभिन्न किसिमका प्रतिक्रियाहरू आइरहेका छन् । महिला अधिकारकर्मी र कतिपय फिल्म समीक्षकहरूले व्यापारका लागि महिला पात्रको अंग प्रदर्शन वा अस्वभाविक हाउभाउ देखाउने पुराना प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार जाह्नवी जस्ती प्रतिभाशाली अभिनेत्रीलाई केवल ‘ग्ल्यामर’का लागि मात्र सीमित राख्नु फिल्मको लेखनकै कमजोरी हो ।

अभिनेता राम चरणका समर्थकहरूले भने निर्देशकको कदमको स्वागत गरेका छन् । उनीहरूले फिल्मको मूल कथा (स्पोर्ट्स ड्रामा) निकै उत्कृष्ट रहेको र सानो विवादले फिल्मको ओज घटाउन नहुने भन्दै दृश्य हटाउने निर्णयलाई बुद्धिमानीपूर्ण भनेका छन् ।

सामाजिक सञ्जाल एक्समा एक दर्शकले लेखेका छन्,“फिल्म परिवारसँग हेर्न जाँदा केही दृश्यले असहज बनायो । निर्देशकले माफी मागेर ती दृश्य हटाउने निर्णय गर्नु प्रशंसनीय छ । यसले आगामी दिनमा फिल्म निर्माताहरूलाई थप जिम्मेवार बनाउनेछ ।”

‘पेड्डी’ एक उच्च महत्त्वाकांक्षा बोकेको स्पोर्ट्स ड्रामा फिल्म हो । यसले खेलकुदको माध्यमबाट आफ्नो अस्तित्व र पहिचान खोज्न संघर्ष गरिरहेको एक पात्रको प्रेरक कथा प्रस्तुत गर्छ ।

निर्देशक बुच्ची बाबू सना स्वयंको लेखन रहेको यस फिल्ममा राम चरण र जाह्नवी कपूरका साथै दक्षिण भारतीय फिल्मका दिग्गज कलाकारहरू शिव राजकुमार, जगपति बाबु, दिव्येन्दु र रवि बुवाको मुख्य भूमिका छ ।