अनमोलको करिअरमा दोस्रो धेरै कमाइ गर्ने चलचित्र बन्यो ‘बाटुलो जून’

काठमाडौं । भुवन केसी निर्देशित चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको दोस्रो सातामा पनि घरेलु बक्स अफिसमा आफ्नो प्रभाव कायम राखेको छ । प्रदर्शनको ११ दिनमै चलचित्रले साढे ८ करोड रुपैयाँ नजिक ग्रस कमाइ गरेको हो ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ‘बाटुलो जून’ले ११ दिनमा ८ करोड ३५ लाख ३७ हजार ९१७ रुपैयाँ ग्रस कमाएको छ । यस अवधिमा फिल्मका २ लाख ६९ हजार ५४४ टिकट बिक्री भएका छन् ।

कात्तिक २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले सुरुवाती दिनदेखि नै राम्रो दर्शक साथ पाउँदै आएको छ । यद्यपि, चलचित्रको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयलाई लिएर दर्शकको प्रतिक्रिया एकनासको छैन । दर्शकबाट मिश्रित प्रतिक्रिया आइरहँदा पनि यसको व्यापारिक गति भने सन्तोषजनक देखिएको छ ।

बक्स अफिसको पछिल्लो आँकडासँगै ‘बाटुलो जून’ अनमोल केसीको करिअरकै दोस्रो सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ । यसअघि गत वर्ष प्रदर्शनमा आएको ‘जेरी अन टप’ उनको सबैभन्दा बढी कमाउने सिनेमा हो । उक्त चलचित्रले घरेलु बक्स अफिसमा १२ करोड २८ लाख रुपैयाँ ग्रस व्यापार गरेको थियो ।

‘जेरी अन टप’ अघिको चलचित्र ‘फर्की फर्की’ले ४ करोड ८४ लाख कलेक्सन गरेको थियो । 

यस चलचित्रमा अनमोलसँगै प्रिन्सी खतिवडा, भुवन केसी, गरिमा पन्त, नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, रेअर राई र श्वेता मिश्रलगायतका कलाकारको अभिनय छ ।

जिया केसी र भविष्य खड्का निर्माता रहेको चलचित्रको सम्पादन कृष्ण भण्डारीले गरेका हुन् । यसको पटकथा तथा संवाद लेखनमा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले सहकार्य गरेका छन् ।