‘जलाकी’को ट्रेलरमा कलेज जीवनको प्रेमकथा

काठमाडौं । निर्देशक अशोक थापा मगरको निर्देशन रहेको चलचित्र ‘जलाकी’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार लबिम मलमा कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा कलेज जीवनको प्रेमकथा र समयको परिवर्तनसँगै पात्रहरूको जीवनमा आउने भावनात्मक उतारचढावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

ट्रेलरमा अभिनेत्री उपासना सिंह ठकुरीको अभिनय र अभिनेता सोनाम तोप्देनसँगको उनको केमेस्ट्री छ ।

मगर समुदायको सांस्कृतिक पहिचानसँग सम्बन्धित सिनेमाको कथा र यसअघि नै चर्चित भइसकेका गीतहरूले ट्रेलरलाई थप आकर्षित बनाएको छ ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो ।

निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए ।

सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन, लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

‘जलाकी’ गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।