‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘जलाकी’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण टिमले शुक्रबार ‘जाले रुमाल मायालाई’ बोलको गीत सार्वजनिक गरेको हो ।

गण्डकी क्षेत्रमा प्रचलित कौडा शैलीमा तयार पारिएको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ । सुरेन्द्र रानाले शब्द रचना गरेको गीतमा एसडी योगीकै संगीत छ भने रिकेश गुरुङ (किज)ले संगीत संयोजन गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई फिचर गरिएको छ । गीतको भिडियोमा उनीहरूको जोडीसँगै मौलिक नेपाली सांस्कृतिक परिवेश, नृत्य र स्थानीय शैलीलाई पनि प्रस्तुत गरिएको छ । सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरले गीतको कोरियोग्राफी गरेका हुन् ।

गीतमा नेपाली मौलिक बाजागाजाको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ । रत्न बीकेले बाँसुरी बजाएका छन् भने मदन रेग्मीले मादल तथा खैंजडी बजाएका छन् । पञ्चेबाजातर्फ शिशिर परियार र सारंगीमा हेमन्त कान्छा रसाइलीको योगदान रहेको छ ।

भिडियोमा मुख्य कलाकार सोनम र उपासनासँगै चलचित्रका अन्य कलाकार अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगर, भावना मगर र प्रवेश राईलाई समेत देख्न सकिन्छ । चलचित्रको कथा र परिवेशसँग जोडिने गरी गीतलाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

यसअघि ‘जलाकी’को ‘चाँदी चलप’ बोलको गीत सार्वजनिक गरिएको थियो । पहिलो गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षको दाबी छ । सोही कारण दोस्रो गीत ‘जाले रुमाल मायालाई’लाई पनि दर्शकले उत्तिकै रुचाउने अपेक्षा निर्माण टिमले गरेको छ ।

चलचित्रमा सोनम तोप्देन र उपासना सिंह ठकुरीसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायतका कलाकारको अभिनय छ ।

त्यस्तै, चलचित्रमा क्याप्टेन विजय लामाको विशेष भूमिका रहेको छ । बालकलाकारतर्फ मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

‘जलाकी’मार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्रमा डेब्यु गरेकी छन् । उनको प्रवेशलाई पनि चलचित्रको एउटा चासोका रूपमा हेरिएको छ ।

शैलेन्द्र डी. कार्कीले छायांकन गरेको चलचित्रलाई एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर, राधा थापा र सुस्मिता बुढाथोकी रहेका छन् ।

‘खुस्मा’को सफलतापछि निर्देशक अशोक थापा मगरले ‘जलाकी’लाई आफ्नो नयाँ प्रस्तुतिका रूपमा दर्शकमाझ ल्याउँदैछन् । अघिल्लो चलचित्रबाट पाएको दर्शकको मायालाई ‘जलाकी’मार्फत पनि निरन्तरता दिनेमा निर्देशक मगर विश्वस्त छन् ।

यो चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्ने छन् ।